१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

धेरैलाई अचम्म लाग्न सक्छ पुलमा भर्‍याङ!  बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा झोलुंगे पुल भत्काएपछि स्थानीयले बचेको पुलको बीचमा काठको भर्‍याङ बनाएका छन्।

असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन। असोजको अविरल वर्षासँगै आएको भेलले जितेगडा बजारसहित झोलुंगे पुल क्षतिग्रस्त बनाएको थियो। वारपार गर्नै गाह्रो भएपछि स्थानीयले दुई लाख रूपैयाँ खर्च गरेर तिलानदीबाट आएको भँगालो र कर्णाली तर्न पुलको बीचमा काठको भर्‍याङ बनाएका थिए।

नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो। स्थानीय नरजंग मल्लका अनुसार तिलानदीको भँगालोमा लाप्को (फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुल) र पुल बगाउन बाँकी रहेको बीच भागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको छ, तर स्थानीय तहले उक्त पुलको मर्मतमा ध्यान दिएका छैनन्।काठको झर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका छन्। तिलानदीको शिव मन्दिरनजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुंगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।

‘पुलमा पुग्न भर्‍याङ बनाउनु अन्यथा होइन’, उनले भने, ‘पुल जोखिमपूर्ण छ तत्कालका लागि नदी वारपार गर्ने उपाय अपनाइएको हो। अहिले चार महिना बितिसक्यो यहाँका स्थानीय तहले मर्मतका लागि पहल चालेको देखिएन।’बेमौसमी वर्षाले कालिकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइलगायत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। अचेल बाढीले बजार र पुल क्षतिग्रस्त बनाएपछि सुनसान छ। यसअघि दैनिक झन्डै पाँच सयजनाले आवतजावत गर्ने पुलमा अहिले दैनिक करिब एक सयजनाले मात्र वारपार गरिरहेका छन्।

प्रकाशित: ५ माघ २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App