१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिक्लेसी भावना जोड्दै माघे संक्रान्ति मेला

सिक्लेसमा जन्मेर पोखरा १६ स्थित जोइमुडीलाई कर्मथलो बनाउँदै आएकी ४८ वर्षीया विष्णुमाया सुनार २५ वर्षपछि सिक्लेस मेला भर्न आएकी छन्। तीन छोरीका साथ माउदयुफ्ई मन्दिर दर्शन गर्न उनी सिक्लेस आइपुगेकी हुन्।  

मन्दिर दर्शन गरेमा आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले उनी भाकल पूरा गर्न छोरीका साथ मन्दिर आएकी हुन्। मेलाको अनुभव होस् भन्ने उद्देश्यले छोरीहरूलाई पनि ल्याएको उनी बताउँछिन्।

माघ १ मा माउद् क्युफ्ई मन्दिर र फइमक्यु मन्दिर दर्शनका लागि तीर्थयात्रीको भीड लाग्ने गर्दछ। माघे संक्रान्तिको दिन माउदयुफ्ई मन्दिरको धारामा स्नान गरेपछि पवित्र भइन्छ र मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास छ। यहाँको धारामा माघ १ मा मात्र पानीको मूल फुट्ने भएकाले त्यस दिन टाढाटाढाबाट मानिस मन्दिरमा आउने गर्छन्।  

यो दुई मन्दिरमा तीर्थयात्रीहरू विशेषगरी स्नानका लागि आउने बताउँदै सिक्लेसका वडाध्यक्ष देवीजंग गुरुङले बताए। उनले भने, ‘स्नानपछि त्यही दिनमै एक सयजनाको मुख हेरे मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ।’

यसैगरी काठमाडौं नयाँबजारका २२ वर्षीय प्रख्यात गुरुङ कलेजको जाडो बिदा सदुपयोग गर्दै मेला हेर्न सिक्लेस आइपुगेका छन्। स्थायी घर पर्वत भएका उनलाई सिक्लेस मेला हेर्ने धेरैअघिदेखिको चाहना थियो।

ठेलो प्रतियोगिता खेल हेरिरहेका उनले माघ २ को बास्केटबल र भलिबल खेल पनि हेर्न भ्याए। उनको मन फुरुंग छ। गुरुङ नृत्य प्रतियोगिता हेर्न पनि उत्तिकै उत्सुक छन्। उनी भन्छन्, ‘मेला रमाइलो लागिरहेको छ।’  

सिक्लेस मेलामा ऐतिहासिक खेल तथा उत्सव हुन्छ। माघ १ देखि ४ सम्म लाग्ने मेलामा माउदयुफ्ई मन्दिर र फइमक्यु मन्दिरको दर्शन, सिक्लेसको ऐतिहासिक खेल ठेलो, नृत्य, बास्केटबल, भलिबल (पुरुष र महिला), रस्साकस्सी (डोरी तानातान) तथा विभिन्न सांगीतिक कार्यक्रम हुन्छ।  

माघे संक्रान्ति मेलाले सिक्लेस गाउँ भरिभराउ छ। पढाइ, रोजगार तथा बसाइँसराई गरी गएकाहरू पनि मेला भर्न गाउँ फर्किएका छन्। यस आधारमा पनि गाउँ उल्लासमय वातावरण छ। तीन हजार जनसंख्या रहेको सिक्लेसमा मेला भर्न १५ सय पाहुना आएको सिक्लेसका वडाध्यक्ष गुरुङले बताए।  

पहिले सिकलेसमा कसरी पर्यटक ल्याउने भन्ने थियो भने अहिले पाहुनालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ। ‘भएका होटल र होम स्टे पाहुनाले भरिएका छन्’, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटक व्यवस्थापनमा क्लब, वडा, स्थानीय समूहको काँधमा उत्तिकै जिम्मेवारी आएको छ।’  

संक्रान्ति मेलाको मुख्य आकर्षण ठेलो प्रतियोगिता रहेको सिक्लेस पर्ची पोखरा समाजका उपाध्यक्ष तथा ठेलो प्रतियोगिता संयोजक क्याप्टेन लोककृष्ण गुरुङ बताउँछन्। उनी भन्छन्, ‘हामीसँग ठेलोको दुई सय वर्षको मोटामोटी तथ्यांक छ।  

ठेलो विजेता भनेपछि सबैले चिन्छन्। ठेलो विजेतालाई सम्मानका साथ हेरिन्छ।’ उनी थप्छन्, ‘पहिलो ठेलो प्रतियोगिता गुमानसिंह गुरुङले जितेको थिए रे। त्यो पाँच पुस्ताअघिको घटना हो।’  

सिक्लेसको सबैभन्दा पुरानो तथा ऐतिहासिक खेल भएकाले कोरोनाको समयमा पनि स्थगित नगरिएको ठेलो प्रतियोगिताका संयोजक क्याप्टेन लोककृष्ण गुरुङको भनाइ छ। उनी भन्छन्, ‘कहिल्यै कुनै हालतमा नटुटेको मेला हो यो। कतिसम्म भने कोरोनाका बेलामा पनि लोकप्रियताका कारण ठेलो प्रतियोगिता आयोजना गरिएको थियो।’

सिक्लेस युवा क्लबले विगत २८ वर्षदेखि सबै प्रतियोगितासँग सहकार्य गरेर मेला आयोजना गरिरहेको वडाध्यक्ष गुरुङले बताए। मेलाले गाउँकै मात्र नभएर गुरुङ समुदायको संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न टेवा पुग्ने उनले बताए। कृषि तथा वैदेशिक रोजगार मात्र नभएर पर्यटनबाट पनि जीवनस्तर उठाउन सकिन्छ भन्ने सिक्लेसबासीले महसुस गर्न थालेका छन्। पाहुना पालेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ।

सरकारले सिकलेसलाई एक सय डेस्टिनेसनभित्र राखेको छ। स्थानीय निकायले पनि यसको पूवार्धार विकासका लागि बजेट छुट्ट्याएको छ।

पोखरादेखि १७ किमिको दूरीमा रहेको सिक्लेस गाउँ पुग्न गाडीमा करिब ३ घन्टा लाग्छ। गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेसमा लगभग सात सय घरधुरी छन्। सिक्लेसबाट अन्नपूर्ण १, २ र ४ हिमाल देखिन्छ। यसका साथै सिक्लेस पार्क, रिसिङ डाँडा, गुरुङ म्युजियम, लामा गुम्बा, भ्युटावर सिक्लेसका अन्य आकर्षण हुन्; जसले गाउँमा आएका पर्यटक बसाइलाई रमणीय बनाएको छ। गाउँका एकैनासका मौलिक घर र ढुंगा बिछ्याएर बनाइएको बाटो र भित्ताले गर्दा गाउँको सुन्दरता थप बढेको छ।

माघे संक्रान्ति उत्सव सिक्लेस मेलासँग जोडिएको छ। यो वर्षौंदेखि सिक्लेसका पुर्खाले जोगाएर राखेको निरन्तर रूपमा चलिआएको मेला हो। यसैले पनि सिक्लेस मेला व्यक्ति, परिवार, गाउँ, समाज, राष्ट्रसँग जोडिएको मौलिक सांस्कृतिक परम्परा मान्न सकिन्छ। सँगै विदेशमा रहेका गाउँबासीको भावनासँग जोडिएको भएर पनि यो मेला विशेष छ।

विगतमा गाउँमा मात्र सीमित थियो भने अहिले मेलाले राष्ट्रियस्तरको रूप लिएको छ। अन्तर्राष्ट्रिय तहमा पनि यसको प्रभाव फैलिरहेको छ। वडाध्यक्षका अनुसार मेला सञ्चालन विदेशमा रहेका गाउँबासीको आर्थिक सहयोगमा हुँदै आएको छ।

प्रकाशित: ३ माघ २०७९ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App