२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पुस २७ गते बिदा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मागलाई सम्बोधन गर्दैै सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते बिदा दिने निर्णय गरेको हो।

सरकारलाई सहयोग गरेको दल राप्रपाले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिन सर्त राखेको थियो।

पुस २७ गते सार्वजनिक बिदा दिने सर्तमा सरकारलाई समर्थन गर्ने धारणा राप्रपाका नेताहरूले राखेका थिए। २०६२/६३ को जनआन्दोलनपछि सो बिदा दिन बन्द गरिएको थियो। त्यसअघि हरेक वर्ष पुस २७ गते सार्वजनिक बिदा दिने गरिन्थ्यो। शेरबहादुर देउवा नेतृत्वमा २०७४ सालमा गठित सरकारले बिदा दिने निर्णय गरे पनि त्यसबेला कार्यान्वयनमा नआएको राप्रपाका नेताहरू बताउँछन्।

बिदा नदिन सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघले आगामी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदा दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार महासंघका अध्यक्ष गेल्ज लामा शेर्पासहित जनजाति महासंघका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै सो बिदा दिने प्रस्ताव लागु नगर्न माग गरेका हुन्।

‘प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनका लागि विश्वासको मत लिने क्रममा रहेको अवस्थामा सरकार गठन गर्न पहल गरिरहेको सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा पुस २७ गते पृथ्वीजयन्तीको रूपमा राष्ट्रिय एकता दिवस मनाउने र सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापन-पत्रमा उल्लेख छ, ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेर पनि राजा महाराजाको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन खोज्नु भनेको राजतन्त्रकै भक्तिगान गाउनु हो भन्ने हाम्रो ठहर छ।’

सरकारको निर्णयले ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक/समावेशी व्यवस्थामाथि चुनौती थपिएको महासंघको ज्ञापनपत्रमा उल्लेख छ।

‘अतः पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र सो दिन सरकारी बिदा दिने जस्ता निर्णय नेपाल सरकारबाट नगरियोस् भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष हार्दिक अनुरोध गर्दछु,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा नेपाल आदिवासी जनजाति महासंघ यसको घोर प्रतिरोधमा उत्रन बाध्य हुने व्योहोरा जानकारी गराउँछु।’

प्रकाशित: २६ पुस २०७९ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App