१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राप्तीकाे बाढीमा फसेका थप २२५ सहित ८९८ को उद्दार

होलिया (बाँके)– राप्ती नदीको बाढीमा फसेका बाँके, होलिया र गंगापुरका थप २ सय २५ जनाको बुधबार उद्दार गरिएको छ । होलिया– ३ र ४ चौफेरी गाउँका १ सय ४ जनालाई हेलिकप्टरबाट र गंगापुर–१ कुडवा गाउँका १ सय २१ जनालाई डुंगाको सहायताले उद्दार गरिएको हो। चौफेरी गाउँका बाढी पीडितलाई होलिया–७ पिप्रहवा गाउँमा छाडिएको छ, भने गंगापुरका पीडितलाई सोही गाविसको वडा नम्वर ९ स्थित रेडक्रसको अस्थायी आवासमा राखिएको छ।

यसअघि मंगलबार अबेर रातीसम्म बाढीमा फसेका होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको हेलिकप्टर, डुंगालगायत साधनबाट उद्दार गरिएको थियो। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार ४ सय ९८ जनाको हेलिकप्टरमार्फत र १ सय ७५ जनालाई डुंगालगायत साधनको प्रयोगबाट उद्दार गरिएको हो। यो सँगै बाढीमा फसेका कुल ८ सय ९८ जनाको दैवी प्रकोप उद्दार समिति बाँकेको पहलमा उद्दार गरिएको छ।

समितिका संयोजकसमेत रहेका प्रजिअ पन्थले उद्दार कार्यमा हेलिकप्टर र डुंगा प्रयोग गरिएको बताए। नेपाली सेनाले यसपटक सुर्खेतमा हेलिकप्टर स्ट्यान्डबाई राखेका कारण उद्दार गर्न सहज भएको उनले बताए। ‘उद्दार गरिएका स्थानीय बासिन्दाहरु केही आफन्त कहाँ आश्रय लिएका छन्, कतिपय अस्थायी टहरामा बसेका छन्,’ बुधबार बेलुका नागरिकन्युजसँग उनले भने। नदीको बीच टापुमा फसेका लगभग सबैलाई उद्दार गरिएको पन्थले बताएका छन्। उद्दार गरिएका स्थानीय बासिन्दाको अवस्था हेरी रेडक्रस, गाविस कार्यालय र सुरक्षाकर्मीको समन्वयमा तयारी खाद्य पदार्थ वितरण गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका गौरीलाल बुढाथोकीका अनुसार सुरक्षित स्थानमा राखिएका व्यक्तिलाई प्रति घर ३ दिनका लागि तयारी खाना प्रतिव्यक्ति (चिउरा ६ सय ग्राम, चिनी ७५ ग्राम, चाउचाउ ३ वटा र बिस्कुट ३ वटा) वितरण गरिएको छ।  बाढीबाट डुबान भएको समुदाय हालसम्म सामान्य अवस्थामा नआइसकेको हुँदा ती समुदायमा तत्काल खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतनामुलक गतिविधि र हाइजिन किटहरु वितरण गर्न सम्बन्धित निकायसँग समन्वयको प्रयाय भइरहेको जनाइएको छ।

राप्तीमा पानीको सतह अचानक बढेपछि राप्ती आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनी, खासकुश्मा, कचनापुर, बैजापुर, बिनौनालगायत गाविसका विभिन्न वडा तथा गाउँहरु डुबानमा परेका थिए । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार राती साढे ११ बजेसम्म नदीमा पानीको सतह बढेर ८ मिटर १५ सेन्टिमिटरसम्म पुगेको थियो। बाढीको मात्रा बुधबार विस्तारै घट्दै गएको बाढी मापक भद्रबहादुर थापाले जानकारी दिए। त्यहाँ ४ मिटर ७० सेन्टिमिटर पुग्ने बित्तिकै होलिया, फत्तेपुर, गंगापुरलगायत गाविसका गाउँमा पानी पस्न सुरु हुन्छ।

कुसुममा बाढी घटे पनि राप्ती नदीको तल्लो तटीय क्षेत्रको जनजीवन भने अझै सामान्य हुन सकेको छैन । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आफूहरु भोकभोकै बस्नु परेको गुनासो गरेका छन्। ‘दुई दिनदेखि चुलो बाल्न पाएका छैनौं,’ नदीको सतह घटे पनि धाराबाट धमिलो पानी आइरहेको छ,’ फत्तेपुर–९ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले बुधबार टेलिफोनमा भने। आफ्नो परिवारलगायत गाउँका कयौं परिवार करिव २४ घण्टासम्म घरको छाना र छतमा बसेर ज्यान जोगाएको उनले बताए। सरकारले राहत वितरण गर्नुभन्दा आफूहरुलाई स्थायी बासको व्यवस्था गर्नुपर्ने उनको माग छ।

‘सरकारले हामीलाई दुई÷चार महिना अस्थायी टहरामा बसाउने, त्यहाँबाट फेरी लखेट्ने काम गर्छ, त्योभन्दा बरु सँधैका लागि बाढीको पीडाबाट छुटकरा दिनुप¥यो,’ पाण्डेले थपे।

बाँकेको होलिया–३ र ४ चौफेरी गाउँबाट बुधबार दिउँसो हेलिकप्टरबाट उद्दार गरेर ल्याइएका स्थानीय बासिन्दा। तस्बिर ः अर्जुन ओली

 

प्रकाशित: १२ श्रावण २०७३ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App