‘पुष्पलाल मध्य पहाडी लोकमार्ग’ अन्तर्गत खोटाङको साकेला गाउँपालिका खण्डको रोकिएको काम सुचारु हुने भएको छ।
कामको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेवीले शनिबार गाउँपालिकालाई ८ बुँदे कायलनामापत्र लेख्दै प्रतिबद्धता जनाएपछि काम सुचारु हुने भएको हो।
जेवीले लोकमार्ग आयोजना कार्यालयलमा साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईलाई कायलनामा पत्र लेखिदिँदै आउँदो असार मसान्तभित्र जिम्मा लिएको कालोपत्रे गर्ने काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
लोकमार्ग कार्यालय धुलिखेलमा गाउँपालिका अध्यक्ष राई र आयोजना प्रमुख मदनकुमार अधिकारीबिच छलफल हुँदा चालु आर्थिक वर्षभित्र काम गरिसक्ने गरी जेवीका प्रतिनिधि अधिकारीले ८ बुँदे कायलनामापत्रमा हस्ताक्षर गरेका छन्।
उनले सो कायलनामापत्र गाउँपालिका अध्यक्षलाई हस्तान्तरणसमेत गरेको आयोजना कार्यालयले जनाएको छ। निर्माण कम्पनीको कायलनामापत्र सहितको प्रतिबद्धताले साकेलाको सेखुवादेखि चखेवाभञ्ज्याङसम्मको १० किलोमिटर खण्ड असारभित्र कालोपत्रे हुने बाटो खुलेको अध्यक्ष राईले बताए।
कायलनामापत्रको पहिलो बुँदामा निर्माणाधीन सडकमा यातायात चलाउन सडकको नियमित मर्मतसंभार गर्दै माघ पहिलो सातादेखि चखेवापटिबाट ‘सबबेस लेईङ’ कार्य थाल्ने उल्लेख छ। त्यस्तै दोस्रो बुँदामा आगामी माघ २५ गतेभित्र सबबेस लेइङ सकेर २६ देखि ‘बेस लेईङ’ को काम सुरु गर्ने प्रतिबद्धता अधिकारीले जनाएका छन्। फागुन मसान्तभित्र कंक्रिट पेभमेन्टको काम सकेर चैत पहिलो साता सुरु गर्दै वैशाख मसान्तभित्र डिबिएसटी (डबल बिटुमिन सर्फेस टीटमेन्ट) को काम सक्ने उल्लेख छ।
प्रतिबद्धता बमोजिम काम भए नभएको बुझ्न आयोजना कार्यालय धुलिखेलले नियमित अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिने प्रतिबद्धता पनि जनाइएको छ। अधिकारीले कायलनामापत्रको बुँदा नं. ८ मा ‘माथि उल्लेखित कार्य तालिका अनुसार निर्माण व्यवसायीले निर्माण कार्य नगरेमा पुष्पलाल मध्येपहाडी लोकमार्ग आयोजनाले ठेक्का तोडेमा मेरो मन्जुरी छु’ भनी सहीछाप गरेका छन्।
गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनीको लिखित प्रतिबद्धतापछि आउँदो असारभित्र सडक कालोपत्रे हुने निश्चित भएको बताए। यसअघि काम नभएको भन्दै स्थानीयले ठेक्का तोडेर नयाँ ठेकेदारमार्फत काम गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत आयोजना कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए।
लामो समयसम्म काम नहुँदा स्थानीयको गुनासो आउनु स्वभाविक भएको भन्दै अध्यक्ष राईले तत्काल काम सुचारु गर्न आयोजना कार्यालय, लोकमार्ग निर्देशनालय र निर्माण कम्पनीलाई पत्राचार र मौखिक दुवै तरिकाले पहल थालका थिए।
जस अनुसार निर्माण कम्पनी काम सुचारु गर्न राजी भएर कायलनामा लेखिदिएको उनले बताए।
‘लामो समयसम्म काम नहुँदा जनता रिसाउनु स्वभाविक हो’ अध्यक्ष राईले भने ‘तत्काल मैले आयोजना, निर्देशनालय र ठेकेदारलाई हुटहुटी लगाएर निर्माण कम्पनीलाई प्रतिबद्धता जनाउन बाध्य बनायौँ।’
निर्माण कम्पनीले लिखित प्रतिबद्धता जनाइसकेकाले अव काम सुचारु हुने कुरामा आफू ढुक्क भएको र गाउँपािलकाबासीलाई पनि ढुक्क हुँदै सहयोग गर्न उनले आग्रह गरेका छन्।
मध्येपहाडी लोकमार्ग अन्तर्गत साकेला गाउँपालिका १ को चखेवा भन्ज्याङदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म ४६ किलोमिटरमध्ये सेखुवा–चखेवा भन्ज्याङ खण्डको १० किलोमिटर दूरी कालोपत्रे गर्ने जिम्मा भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेवीले लिएको थियो। तर, २०७५ फागुन ३० गतेभित्र काम सक्ने गरी २०७२ चैत २ गते सम्झौता गरे पनि म्याद नाघेको ४ वर्ष बितिसक्दा सम्म काम नभएपछि स्थानीय आक्रोशित भएका छन्।
४ वर्षअघि बनिसक्नुपर्ने कालोपत्रे नभएपछि स्थानीयवासीले सो निर्माण कम्पनीको ठेक्का तोडेर अर्कोमार्फत काम गर्न माग गर्दै एक साताअघि आयोजना कार्यालयलाई गुहारेका थिए। उता आयोजना कार्यालय धुलिखेलले मंसिर दोस्रो साता नै ठेक्का तोड्नु मुनासिब भएको रायसहित सडक विभागमा सिफारिस गरिसकेको थियो। आयोजना प्रमुख (डिई) दीपेन्द्र पाण्डेका अनुसार समयमा काम नगरेकाले ठेक्का तोड्न माथिल्लो निकायसमक्ष सिफारिस गरिएकाे हाे।
पुष्पलाल मध्य पहाडी लोकमार्ग निर्देशनालय प्रमुख हरि पोखरेलले समयमा काम नगरेको गुनासो गर्दै गाउँपालिकाले पत्राचार र मौखिक आग्रह गरे बमोजिम ठेकेदारलाई बोलाएर ताकेता गर्दै काम सुचारु गर्न निर्देशन दिएको बताए।
निर्देशनालय प्रमुख पोखरेलका अनुसार यसअघि सम्झौता अनुसार काम नभएको हुनाले ठेकेदारलाई लिखित प्रतिबद्धता जनाउन लगाइएको हो।
‘पहिले लापरबाही भएकै कारण म्याद नाघेको यतिका दिनसम्म काम नहुँदा स्थानीयले आपत्ति जनाएको पाइयो’ पोखरेलले भने ‘अव त्यस्तो नहोस् भनेर ठेकेदारले गाउँपालिका अध्यक्षसमक्ष ठेकेदारले लिखित प्रतिबद्धता नै जनाएका छन्।’
प्रकाशित: २४ पुस २०७९ ०९:४१ आइतबार





