coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढीनन्दा नगरको कार्यालयमा आगजनीको प्रयास, जिआइजेटको गाडीमा तोडफोड

नगरपालिकाको कार्यालय अघि राखिएको तोडफोड गरिएको गाडी। फोटो: नागरिक

बुढीनन्दा नगरपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ। बिहिबार रातीको समयमा पालिकाको कार्यालय नै ध्वस्त पार्ने गरि आगजनीको प्रयास गरिएको नगरपालिकाले बताएको छ। नगरपालिका बाहिर राखिएको गाडी र जेनेरेटरमा तोडफोड र आगजनी गरिएको छ।

प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरिएको हुन सक्ने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्। नगरपालिकाले बिहिबार मात्रै प्राविधिक तर्फको परीक्षाफल प्रकाशित गरेको थियो।

पालिकाको जेनेरेटर मेसिन, मुख्य ढोका, र पालिकाको नयाँ भवन अगाडि राखिएको जिआईजेडको गाडीमा तोडफोड गरिएको छ। नगरपालिकाले पछिल्लो समय जनताका कामहरुलाई मध्येनजर गर्दै तिव्र रुपमा काम गर्न थालेपछि विपक्षीहरुले विरोध गरिरहेको नगर प्रमुख बोहराको भनाइ छ।

पालिकाले यसै हप्तादेखि मात्रै पहिलो पटक बिशषेज्ञ सेवा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु गरेको छ। यस अघि आकस्मीक प्रसुती सेवा पनि नियमित सञ्चालन गरिरहेको छ। भने वर्षाैदेखि प्रमुख समस्यामा रहेको कोल्टी बजारको खानेपानी सहज अवस्थामा ल्याएको छ। काम नगर्ने र राजनीतिक आस्था मिलेर राखिएका अनावश्यक कर्मचारीको चाप पनि घटाएको अवस्था छ।

पालिकाको जनता प्रति उत्तरदायी हुने कामको विरोध स्वरुप आगजनी प्रयास भएको आरोप नगरपालिकाको छ। नगरपालिकामा एमालेको सरकार आएदेखि नै विपक्षीहरुले नगरमा राम्रा कामहरु गर्न नदिने उद्देश्यले विभिन्न समस्या उत्पन्न गराउने गरिएको नगर प्रमुखको भनाइ छ।

नगरपालिकामा नयाँ नेतृत्व आएसँगै पालिका भित्रका सम्पतिमा क्षतीमा क्षति पुर्याउने, चोरी गर्ने जस्ता गतिविधी भइरहेको नगरपालिकाले बताएको छ। बिहिबार राती आगजनीको प्रयास गर्ने व्यक्तिहरुको पहिचान हुन नसकेपनि त्यही विरोधी गिरोह हुन सक्ने आशंका नगरपालिकाले गरेको छ।

यस अघि पनि नगरपालिकाका २ वटा मोटरसाइकलमा आगजनी गरिएको थियो, भने बुढीनन्दा नगरपालिका ७ को वडा कार्यालयमा समेत तोडफोड भएको थियो। केही महिना अगाडि मात्रै नगरपालिकाको प्राविधिक शाखामा रहेका ५ वटा ल्यापटप र कम्प्युटरहरु समेत चोरी भएका थिए।

नगरपालिकामा विभिन्न बाहनामा पटक पटक श्रृखलावद्ध तरिकाले यस्ता अपराधिक घटनाहरु घट्ने गरेको देखिन्छ। पालिकाले प्रहरी प्रशासनबाट सुरक्षामा कुनै चासो नदिएको र नियन्त्रणका लागि प्रयास नगरेको आरोप लगाएको छ। 

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाका अनुसार नगरपालिकामा आगजनीको प्रयास र गाडीको तोडफोड गर्नेहरुको खोज तथा अनुसन्धान भइरहेको बताएका छन्। उनले कुनै प्रकारले पनि गल्ती गर्नेले सजाए भोग्नु पर्ने र त्यसमा लागि प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताएका छन्।  

प्रकाशित: १५ पुस २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App