१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले यही पुस १३ गते नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे।

यसअघि मङ्सिर १४ गते समेत सोही स्थानमा उनले डल्फिन देखेका थिए। गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पारेका उनी यतिबेला उत्साहित छन्।

लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उनले बताए। ‘नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ। यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ’, उनले भने।

नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ। धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ। यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताए।

लामो समयको अन्तरालपछि क्रमश: डल्फिन देखिनु आफैंमा खुसीको कुरा भएको उनले बताए। यस क्षेत्रमा दुईवटा डल्फिन देखिने गरेको महतोले बताए। गत मंसिर १४ गते डल्फिनको फोटो समेत खिच्न भियाएका थिए।

संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालै मात्र नारायणीमा डल्फिन फेला पारेको बताए। पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उजको भनाइ छ।

त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको बाधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उनको भनाइ छ। ‘अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ’, उनले भने, ‘पहिला धेरै देखिने ठाउँ हो। पछि विस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो।’

नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणले समेत फाइदाजनक भएको उनको भनाइ छ। नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधि बढाउने संरक्षणकर्मी चौधरीले बताए। ‘यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवर्द्धन हुन्छ’, उनले भने।

डल्फिन एक स्तनधारी जलचर जीव हो। नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताए। नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ। नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

‘नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्ने लगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ’, उनले भने, ‘यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ।’

नारायणी नदीमा नियमित रूपमा डल्फिन देखिंदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताए। ‘हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्न पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ’, उनले भने। रासस

प्रकाशित: १५ पुस २०७९ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App