नेपालका लागि चिनियाँ दूतावासले चार्ज दि अफेयर्स वाङ सिनले नेपालका कुनै पनि नेतासँग भेट नगरेको प्रष्टीकरण दिएको छ। सिनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपाका नेता उपेन्द्र यादवसँग भेटेको समाचार सार्वजनिक भएको भन्दै उक्त दाबीमा सत्यता नभएको जनाएको हो। दूतावासका द्वितिय सचिव सचिव झाङ सिले एक विज्ञप्ति जारी गर्दै दूतावासका चार्ज दि अफेयर्सले नेपालका शीर्ष नेताहरूसँग भेट गरेको दाबी मिथ्या रहेको जनाएका छन्।
विगतमा नेपालका आन्तरिक मामिलामा चिनियाँ भूमिका नगन्य जस्तो हुने गरेकोमा निवर्तमान राजदूत होउ याङछीले त्यो परम्परालाई तोड्दै सक्रिय भूमिका खेलेको आरोप लाग्ने गरेको छ।
विशेषगरी वाम घटकहरूकाबीचमा एकता भई बनेको तत्कालिन नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला राजदूत याङछीले शीर्ष नेताहरूसँग एक एक गरी भेट्दै एकतालाई जोगाउन भूमिका खेलेकी थिइन।
पछिल्लो समय बाम घटकबीच मिलेर सरकार बनाउने विषयमा बहस तथा छलफल भइरहेका चिनियाँ भूमिकाले काम गरेको हो कि भन्ने प्रश्नकाबीच चिनियाँ दूतावासले कुनै किसिमका भेट नभएको प्रष्टीकरण दिएको हो।
प्रकाशित: १० पुस २०७९ ०१:१२ आइतबार




