१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याउने कार्यको परीक्षण यो साता हुने

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पानी पुर्‍याउने योजना यो साता पूरा हुने भएको छ। लिफ्टिङ प्रविधिबाट पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्‍याउने योजनाको असोज पहिलो सातानै परीक्षण गर्ने तयारी थियो। तर पम्पिङ प्रणाली सञ्चालनमा थ्रीफेज बिद्युत लाइननै अनिवार्य भएकोले अरु सबै काम र प्रकृया पूरा भएपनि पाथीभरामा पानी पुर्‍याउने योजना सफल हुन सकेको थिएन। 

थ्रीफेज बिद्युत लाइन व्यवस्थापनका लागि नेपाल बिद्युत प्राधिकरण बिद्युत बितरण केन्द्र ताप्लेजुङमार्फत प्रकृया प्रारम्भ भइसकेकोले यहिँ साता लिफ्टिङ प्रविधिबाट पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्‍याउने योजनाको परीक्षण हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। उनका अनुसार क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको बलुडाँडाका लागि थ्रीफेज स्मार्टमिटर ५० केभीएको,फेदीकालागि २५ केभीएको,दोवाटोका लागि २५ केभीएको र नयाँपाटीकालागि २५ केभीएको उपकरण उपलब्ध गराइदिन पत्राचार गरिसकेको छ। यि उपकरण उपलब्ध भएर जडान हुन समय नलाग्ने भएकोले यहिँ साता पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पु¥याउने योजनाको परीक्षण गर्ने तयारी गरिएको काफ्लेले बताए।

निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाका अनुसार काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ। काफ्ले पाटी, बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी ६ वटा ट्याङ्की निर्माण भएको छ। लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण गरिएको छ। कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागत रहेको यो आयोजना सहलगानीको आयोजना हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकार अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो। 

कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ सहलगानी रहेको छ। २०७७ साल असोज १८ गते यो आयोजना सञ्चालन सम्झौता भएको थियो।  

प्रकाशित: ८ पुस २०७९ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App