६ वैशाख २०८१ बिहीबार
समाज

शोभराजका नाममा ‘कैद छुट पुर्जी’, कारागार प्रशासन छाड्ने प्रक्रिया र विधिबारे परामर्शमा

काठमाडौँ र भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका चार्ल्स शोभराजका नाममा ‘कैद छुट पुर्जी’ पठाएका छन्।

स्रोतका अनुसार सर्वोच्चको बुधवारको आदेशका आधारमा उनीहरुले एउटै ब्यहोरासहितको कैद छुट पुर्जी पठाएका हुन्। पहिला भक्तपुर र त्यसपछि काठमाडौँ जिल्ला अदालतले कारागार प्रशासनलाई पत्र पठाएका हुन्। तर कारागार प्रशासनले शोभराजलाई बिहीबार साँझ ६ः०० बजेसम्म पनि उनलाई छाडेको छैन।

स्रोतका अनुसार कारागार प्रशासनले अध्यागमन विभागसँग उनलाई छाड्ने प्रक्रियाबारे परामर्श गरिसकेको छ। अध्यागमन विभागले यस बिषयमा नेपालस्थित फ्रान्सेली दूवावासँग छलफल गरिसकेको छ। उनलाई फ्रान्स फर्काउने विधि र प्रक्रिया तय भएपछि मात्र कारागार प्रशासनले शोभराजलाई उनका आफन्तकाे जिम्मामा छाड्ने बुझिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए बिहीबार देखिनै कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको थियो।

शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानुनले दिएको सुविधा पाउनुपर्ने भनेर आदेशमा उल्लेख गरिएको छ।

२०६१ साल २८ साउनमा काठमाडौँ जिल्ला अदालतले व्यक्ति हत्याको ठहर गर्दै शोभराजलाई जन्मकैदको सजाय सुनाएको थियो।

शोभराज जेल कसरी परे?

२०३२ पुस ८ मा मनोहरा खोला किनारमा एक महिलाको शव फेला पर्‍यो। निर्वस्त्र शव कसको हो भनी नचिनिने अवस्थामा थियो। मुटुमा चारपटक छुरी रोपी उनलाई मारिएको थियो। पछि अनुसन्धानपछि त्यो शव अमेरिकी नागरिक कोन्नी जो रहेको खुलेको थियो।

त्यसैगरी २०३२ पुस ६ मा अरनिको राजमार्गमा डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा फालिएको अवस्थामा भेटिएको शव पनि निर्वस्त्र थियो। अनुहार डढाएर नचिनिने गरी फालिएको थियो। ती पुरुष कोन्नीका प्रेमी लरेन्ट थिए। अनुसन्धानपछि कोन्नी र लरेन्ट एउटै योजनामा मारिएको रहस्य खुल्यो।

दुवै हत्यामा संलग्न रहेको भन्दै शोभराज पक्राउ परेका थिए। दुई जना पर्यटक नेपाल आएका बेला हत्या गरेको ठहरमा उनलाई अदालतबाट दोषी ठहर गरी २० वर्ष कैद तोकिएको थियो। उनलाई जन्मकैदसहित २०८० असोज १ सम्म कैद बस्नुपर्नेगरी २०६० सालमा भक्तपुर जिल्ला अदातलबाट फैसला भएको थियो। जिल्ला अदालतको फैसलाअनुसार अब उनले आठ महिना जेल बस्नुपर्नेछ।

को हुन् शोभराज

सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चाल्र्स शोभराज ‘विकिनी किलर’का रूपमा परिचित छन्। उनको पूरा नाम चार्ल्स गुरुमुख शोभराज हो। शोभराज भारतीय बाबु र भियतनामी आमाका सन्तान हुन्। उनी सानै हुँदा बाबु भारत फर्केका थिए। त्यसपछि एक फ्रान्सेली नागरिकलाई आमाले ब्वाइफ्रेन्डका रूपमा अपनाएपछि शोभराज भियतनामी, भारतीय र फ्रान्सेली नागरिक कहलिएका थिए ।

किशोरावस्थाबाटै अपराधमा प्रवेश गरेका शोभराज सन् १९६३ मा चोरीको आरोपमा पहिलो पटक जेल परेका थिए। त्यसपछि उनको अपराध शृंखला सुरु भएको थियो। उनी चोरी र डकैतीको अभियोगमा पक्राउ परिरहन्थे। सन् १९७५ मा टेरेसा नोल्टनको हत्याको अभियोगमा उनी पक्राउ परे। हेनरिकस विन्ताजाका नाममा हल्यान्डबाट जारी एस ४८६९२० नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेर उनी पहिलोपटक बैंककबाट नेपाल भित्रिएका थिए। पछि शोभराजले उनकी प्रेमिकाको हत्या गरेको खुलासा भयो।

थुप्रै देशमा हत्या अभियोग लागेका उनलाई भारतमा १२ वर्षको जेल सजाय सुनाइएको थियो। रिहा  हुन दुई वर्ष बाँकी छँदा मार्च १९८६ मा भारतको सबैभन्दा बलियो मानिने तिहाड जेलबाटै उनी फरार भए। भारत सरकारले थाइल्यान्ड सरकारलाई सुपुर्दगी गर्न सक्ने आशंकाले उनी जेलबाट भागेका थिए। छुटेको केही दिनमै गोवाको एक रेस्टुरेन्टबाट उनी पक्राउ परे।

सन् १९९७ फेब्रुअरी १७ मा भारतीय जेलबाट रिहा भएपछि उनलाई फ्रान्स पठाइयो। उनी सेलिब्रिटीझैं भएपछि विलासी जीवन सुरु भयो। धेरै देशमा उनले गरेका अपराधको प्रमाण नष्ट भइसकेका थिए। नेपालमा आफूविरुद्ध प्रमाण छ भन्ने उनले पत्तै पाएनन् र निर्धक्क भएर नेपाल आए।

२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी अपराध महाशाखाले शोभराजलाई पक्राउ गरेको थियो। डकुमेन्ट्री बनाउन र हस्तकला व्यापार गर्न पहिलोपटक नेपाल आएको दाबी उनले गरेका थिए। उनी विदेशी नागरिक हत्या अभियोगमा फरार अभियुक्त भएकाले हनुमानढोकाको हिरासत कक्ष हुँदै सेन्ट्रल जेल पुगेका थिए। उनलाई भक्तपुर जिल्ला अदालतले हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

प्रकाशित: ७ पुस २०७९ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App