१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

श्रीमतीलाई अँगालो हालेको देख्दा शिक्षकको हत्या

छात्रावासमा बसेर अध्ययन गरिरहेकी छात्रालाई अँगालो हाली हातपात गर्न खोज्दा पाटन नगरपालिका–६ स्थित कृष्ण माविका शिक्षक धनबहादुर बिष्टको हत्या भएको खुलेको छ।

सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी पुर्चौडी नगरपालिका–३ न्वादेउकी २२ बर्सिया विमला बोहरालाई राती अँगालो हाली हातपात गरिरहेको बेला विमलाका श्रीमान् प्रजाबहादुर बोहराले देखेपछि छाती र मुखमा मुक्का प्रहार गर्दा बिष्टको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आरोपितको बयान अनुसार शौचालय गएकी विमला बोहरालाई सोही छात्रावासमा बस्दै आएका मृतक विष्टले आफ्नो कोठाको सिडीमा अँगालो हाली हातपात गरिरहेको देखेपछि रिस थाम्न नसकेर मुक्का प्रहार गरी पछारेर अलि पर रहेको ढुङ्गाले मुखमा हिर्काउँदा बिष्टको मृत्यु भएको बयान दिएका छन्।

छात्र बासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्र बासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो। आरोपित दम्पत्तिलाई जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार सार्वजनिक गरेको छ।

मृतक बिष्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पुस २ गतेदेखि पाटनमा स्थानीयहरूले आन्दोलन गरिरहेका थिए। प्रहरीका अनुसार आरोपितहरू पक्राउ परेपछि आफन्तले मृतकको शव बुझेका छन्। स्थायी ठेगाना सुर्नया गाउँपालिका–२ ग्वानी रहेका मृतक बिष्ट कृष्ण मावि र पाटन बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका थिए।

आरोपितहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए।

प्रकाशित: ७ पुस २०७९ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App