४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ठुलो आँगनमा सालिक बनाउँदा स्थानीयको विरोध

गोरखा संग्रहालय अगाडी ठुलो आँगनमा पृथ्वीनारायण शाहाको शालिक निर्माण गर्न बनाइएको खाडल पुर्दै स्थानीय। तस्बिरः नागरिक

गोरखाको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्न खनिएको खाडल  मंगलवार स्थानीयले पुरिदिएका छन्। नेपाली सेनाले परेड प्रर्दशन गर्न ठुलो आँगनको बीचभागमा सालिक बनाएमा आउजाउ गर्ने सडक अवरुद्ध हुने भन्दै स्थानीयले खाडल नै पुरिदिएका हुन्।

गोरखा नगरपालिका–३ नारेश्वर, ४ पिपलथोक, ५ को स्वाँरा लगायत क्षेत्रका स्थानीयले बिरोध जनाएका हुन्। ५० भन्दा बढिको संख्यामा आएका स्थानीयले सालिक निर्माण गर्न खनिएको दुईफिट गहिरो खाडल ढुङ्गा माटोले पुरिदिएका हुन्।  

‘ठुलो आगनको पर्यटन प्रर्वद्धन गर्दा गोरखा दरवार, भिमसेन पार्कमा चाँही पर्यटक जान सक्दैनन,’ गोरखा नगरपालिका–३ का अध्यक्ष चुलबहादुर कुँवरले भने ‘पुर्खादेखि हिँड्दै आएको बाटो अवरुद्ध गर्न भएन भन्ने माग स्थानीयको छ।’ वैकल्पिक सडकको व्यवस्था गरेर मात्रै ठुलो आगनमा संरचना निर्माण गर्नुपर्ने माग स्थानीयको छ। नगरपालिकाले गर्न लागेको कार्यक्रमको बिरोध नभई बैकल्पिक बाटोको माग स्थानीयले गरेको वडा अध्यक्ष कुँवरले बताए। बैकल्पिक बाटो बनाईन शालिक बनाउन नदिने स्थानीयले बताएका छन्।  

गोरखा नगरपालिका करिब २२ लाख लागत रुपैयाँमा ठुलो आँगनमा पृथ्वीनारायण साहको शालिक निर्माण गर्ने काम सुरु गरेको थियो। सालिक निर्माणसँगै हरेक दिन सेनाले परेड प्रदर्शन गर्ने र त्यसले गोरखाको पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने नगरप्रमुख कृष्णबहादुर राना मगरले बताए।  

सबैको हितका निम्ति यो कार्यक्रम भएको उनले बताए । ‘सालिक सहित मोनोग्राम बन्न लागेको हो, परेडको निम्ती हो, यसले बाटो छेकिँदैन, दमकल पनि आउजाउ गर्न सक्छ,  सवारी साधन जान खुल्ला छ,’ उनले भने । उक्त कार्यक्रम नेपाली सेना सहितको भएकाले विरोध गरेको खण्डमा तत्काल रोकिने हुँदा काम गर्न दिन नगरप्रमुख रानाले बिरोधमा उत्रिएका स्थानीयलाई अनुरोध गरे।  

स्थानीयले भने परेड खेल्ने समयमा सडक अवरुद्ध हुँदा इमर्जेन्सी बिरामी वा समस्या परेकालाई समस्या हुने भन्दै बीच सडकमा बनाउन नहुने बताए। गोरखा संग्रहालय अगाडीको ठुलो आँगनको ऐतिहासिकता मेटिने भएकाले भत्काएर बीच भागमा सालिक बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा चर्चा भईरहेको छ। केहीले भने सालिक सहित परेड प्रर्दशनले पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने बताएका छन्। उक्त सालिक आउँदो पुस २७ गते प्रधानसेनापतीले उद्घाटन गर्ने गरी निर्माणको थालनी भएको थियो ।  

प्रकाशित: २७ मंसिर २०७९ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App