३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

अधिक लोड र तीव्र गतिका कारण दुर्घटना भएको अनुमान

मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटमा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ल्याइँदैछ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार छेडागाड–४ को जेवाबाट वडा नं. ५ को लेवा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बेलुका साढे चार बजेतिर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेर जाजरकोटको छेडागाड नगरपालिका–५ का २८ वर्षीय दिपक अधिकारी, नैनसरा अधिकारी, २६ वर्षीया जैकुवरा बुढा, उमेर नखुलेका रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निषा अधिकारी, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, दैलेखको भगवतीमाई गाउँपालिका–२ का बोलेरो जिप चालक मानबहादुर रावत, बोलेरो साहु अमर खड्का र वीरेन्द्र केसी छन्।

क्षमताभन्दा धेरै यात्रु र अधिक लोडका कारण बोलेरो जिप दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटना भएको क्षेत्र मध्य पहाडी राजमार्गको कालोपत्रे गरिएको खण्ड हो। जिप सडकबाट दुई सय मिटर तल खसेको छ। रातो नम्बर प्लेटको बोलेरोमा चालकसहित पाँच जना यात्रु मात्रै राख्न पाइन्छ। तर, सोमबार दुर्घटना भएको जिपमा १२ जना यात्रुहरू थिए।

एक स्थानीयका अनुसार बोलेरोको पछाडि पट्टीको भागमा पनि यात्रुहरूसँगै सामाग्रीहरू राखिएको थियो। ‘अधिक लोड र तीव्र गतिमा बोलेरो चलाएकाले दुर्घटना भएको हुनसक्छ,’ ती स्थानीयले भने, ‘ठाउँको नाम भीरबाटी भएपनि बाटो फराकिलो र कालोपत्रे गरिएकाले दुर्घटना हुने खालको थिएन।’

आइतबार प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी पोखरेल जाजरकोट पुगेर ग्रामीण क्षेत्रमा क्षमता भन्दा धेरै यात्रु राखेर यातायातका साधन सञ्चालन हुने गरेको, यात्रुहरूबाट अधिक भाडा असुल्ने गरेको गुनासो आएको भन्दै कडाइका साथ निगरानी गर्न मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिएका थिए।

प्रकाशित: २६ मंसिर २०७९ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App