१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किराँत समुदायको महान् चाड ‘साकेला उँधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ। किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन छ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा/धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुवात गर्ने तयारी गरेको किराँत राई यायोख्खा खोटाङका सचिव जीवन नाछिरिङले बताए।

किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिने साकेला उँभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम समेत राखिएको किराँत राई यायोख्खाले जनाएको छ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा ‘अन्नबालीको सह बसोस्, अनिकाल नलागोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेंलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन्।

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ-हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुंगाको गाउँपालिकाको जन्तेढुंगा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासे भञ्ज्याङ लगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ। उँधौली र उँभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ।

छितको गुन्यू, मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक वेशभूषामा सजिएर हरेक किराँत राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवती समेत साकेला सिली नाच्ने गरेका छन्। चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका निवर्तमान अध्यक्ष हात्तीराम राईले बताए।

हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रूपमा सुरु गरिने साकेला उँधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्र बिच शुभकामना आदानप्रदान समेत गरिन्छ। बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपूर मनोरञ्जन दिने गर्दछ।

उँधौली तथा उँभौलीको अवसरमा किराँत राईहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताए। ‘साकेला पर्वले जातीय,धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ’ उनले भने, ‘साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।’

साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ लगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिएको छ। साकेला उँधौली तथा उँभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा उँधौली १५ तथा उँभौली महिना दिनसम्म मान्ने गरेका छन्।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मंसिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ। चराचुरुङ्गी बेंसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःखसुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ।

साकेला उँधौलीको अवसर पारेर नेपाल सरकार, गृहमन्त्रालयले आज (बिहीबार) एकदिन सार्वजनिक बिदासमेत दिएको छ। किराँत समुदायको उँधौली साकेला, योमरी पुन्हि-ज्यापू दिवस (धान्य पूर्णिमा) को अवसरमा सार्वजनिक दिइएको हो। रासस

प्रकाशित: २२ मंसिर २०७९ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App