२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ। अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरि हिंडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घर-घरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताए।

‘गाउँपालिकाको चिसाङबाट त दिनभरि नै हिंडेर बैंकसम्म आएर भत्ता बुझ्नपर्ने कठिनाइ थियो’, उनले भने, ‘लाभग्राहीलाई भत्ता बुझ्न सवारी साधन रिजर्भ गर्दा आउँदा रु.तीन हजारभन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिंडेर आउँदा एकै दिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको हो।’

गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए। गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय, एकल महिला लगायतका सबै लाभग्राहीलाई बैकिङ प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको उनले बताए।

घण्टौ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन्।

प्रकाशित: २१ मंसिर २०७९ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App