२१ माघ २०७९ शनिबार
समाज

लहानकाे खुट्टीखोलामा चाइना कम्पनीद्वारा अवैध क्रसर उद्योग सञ्चालन

लहानको खुट्टि खोलाममा गैरकानूनी रुपमा चाइना कम्पनीद्वारा संचालित क्रसर उद्योग। तस्विरः मिथिलेश यादव/नागरिक

लहान नगरपालिका–१४ बस्तीपुरस्थित खुट्टीखोलामा स्टोन क्रसर प्रोसेसिङ प्लान्ट सञ्चालन भइरहेको छ। खोलामै सञ्चालित यस क्रसर उद्योगको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन।

खुट्टीखोलामा सञ्चालित यस क्रसर उद्योगले क्रसर सञ्चालनसम्बन्धी मापदण्ड पालना गरेको छैन। यो खोलाको वातावरणीय प्रभाव मूल्यांकनसमेत  नभएको बताइएको छ। बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य वस्तु निकाल्न पाइँदैन । तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् भइरहेको छ।

उद्योग दर्ता अनुमति प्राप्त गर्न वनक्षेत्र सीमांकनका लागि डिभिजन वन कार्यालयको सहमति हुनुपर्छ। वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनलगायतका मापदण्ड पूरा गर्नुपर्छ। क्रसर सञ्चालन गर्दा मापदण्ड, प्रतिवेदन, कानुनी प्रावधान पूरा गर्नुपर्छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिममा कमला नदी पुलदेखि पूर्वमा सप्तरीको कञ्चनपुरसम्म निर्माणको ठेक्का पाएको चाइना रेल्वे कम्पनीले क्रसर मात्र कानुनविपरीत सञ्चालन गरेको छैन, नदीजन्य वस्तुको उत्खनन् पनि कानुुनविपरित गर्दैछ।  

यस कम्पनीले लहान नगरपालिकाको वडा नम्बर १५ स्थित झवाई खोलसी सामुदायिक वनसँगै पश्चिम र नगरपालिकाकै २४ नम्बर वडाको खेस्राहा क्षेत्रमा एक्साभेटरमार्फत खुट्टी खोलामा मनपरी उत्खनन् गरेको पाइएको हो। उत्खननस्थलको उत्तरतर्फ चुरे पहाड छ। यस खोलाको मुलमै एक्साभेटर मार्फत गहिरो खाल्डो बनाएर उत्खनन् भइरहँदा नियामक निकाय मुखदर्शक बनेको नगरस्तरीय अनुगमन टोलीको बुझाइ छ।

गत वर्ष नगरपालिकाले प्रति घन मिटर ४ रुपैयाँका दरले चाइना रेल्वे कम्पनीलाई उत्खनन् गर्न ठेक्का सम्झौता गरेपनि उत्खननस्थल तोकेको थिएन। खोलाभरी कहिँ पनि संकलन÷उत्खनन केन्द्रको बोर्ड राखिएको थिएन। कुन स्थानबाट कति परिणममा नदीजन्य वस्तु झिक्ने त्यो पनि नगरपालिकाले सिमांकन गरिदिएको थिएन। जसको आडमा चाइना रेल्वे कम्पनीले खोला र चुरे संरक्षित क्षेत्रमा अनियन्त्रित नदी दोहन गरिरहेको छ।

जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोका अनुसार नगरस्तरीय अनुगमन टोलीमार्फत तीन दिनअघि गरिएको खुट्टिखोला अनुगमनको क्रममा सहभागी हुँदा उत्खन्नमा बदमासी भएको देखिएको छ।  

चाइना रेल्वे कम्पनीले धनुषा र सिरहाको साझा कमला नदी र सिरहाको गागन नदीमा पनि खुट्टीखोला जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भैरहेको सीमाविहिन दोहनले विनाश निम्तिने स्थानीय बताउँछन्।

चाइना कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुपले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–कञ्चनपुर खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ किलोमिटर खण्ड चार लेन र कञ्चनपुर, जन्डोल, वीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ किलोमिटर खण्ड ६ लेनको सडक निर्माणकौ ठेक्का पाएको छ। लहान र रुपनीमा अण्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुलसमेत बनाइने ग्रुपले जनाएको छ । सन् २०२३ को अक्टोबरसम्म राजमार्ग निर्माण सम्पन्न गर्ने सम्झौता छ।  

ढुंगा गिटी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, डिभिजन वन प्रमुख, प्राविधिक इन्जिनियर, राजस्व कार्यालय वा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको अनुगमन समितिको व्यवस्था गरेको छ।

यो समितिले वातावरणीय अध्ययन प्रतिवेदनका सर्त पालना गराउने, उत्खनन र संकलनका लागि स्वीकृत विधि, प्रक्रिया र परीक्षणसम्बन्धी व्यवस्थाको पालना गराउने, राजस्व चुहावट तथा चोरी निकासी रोक्ने, ठेक्का सम्झौता पालना गराउने, सञ्चालित क्रसर उद्योगले तोकिएको मापदण्ड पूरा गरेनगरेको अनुगमन तथा नियन्त्रण गर्ने काम गर्दछ।

तर समितिले जिल्लाका खोलानदी र क्रसर उद्योग अनुगमन गरेर कारबाही गरेको रेकर्ड भने छैन। समितिले कारबाही गर्नुको साटो चुप लागेर बस्नुले सेटिङलाई प्रस्ट्याउँछ। यद्यपी जिसस संयोजक महतोले नागरिकसँग भने, ‘कर्मचारी र प्राविधिक अभावले सोचजतीको काम गर्न सकिरहेका छैनौं। यसमा प्रमुख सहयोग प्रहरी र प्रशासनको चाहिने हुन्छ।’

लहान नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन चौधरी खोलामा बदमासी क्रियाकलाप भएको बताउँछन्। ‘अहिले हामीले चाइना कम्पनीसँग सम्झौता गरेका छैनौं’, उनले भने,‘क्रसर खुट्टि खोलामै संचालित देखियो। यस सम्बन्धि हामी केहि भन्न सक्दैनौं।’

घरेलु कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवका अनुसार कार्यालयबाट उक्त क्रसर उद्योग दर्ता भएको छैन। ढुंगा गिटी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा राजमार्गको राइट अफ वेबाट ५०० मिटर, खोला वा नदी किनारबाट ५०० मिटर, पक्की पुलबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट २०० मिटर, घना बस्तीबाट २ किलोमिटर, चुरे पहाडको फेदीबाट १५०० मिटर टाढाको दूरी कायम गरेर मात्र क्रसर सञ्चालन गर्नुपर्ने उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७९ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App