सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साइटारस्थित बिपी राजमार्गमा माइक्रो र बस ठोक्किँदा १० जना घाइते भएका छन् ।काठमाडौँबाट काँकडभित्ता गइरहेकाे बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस ठोक्किएकाे हाे।
दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरुमा झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका-१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका-७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन्। उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ। बस चालक दोलखाको बैतेश्वर गाउँपालिका-६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ।
प्रकाशित: २० चैत्र २०८२ १३:५५ शुक्रबार





