१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

साउनको आधा बितिसक्दा पनि धान रोप्न अझैँ बाँकी

किसानलाई चाहिँदो वर्षा नहुँदा यस वर्ष साउनको आधा बितिसक्दा सम्म उदयपुरमा धान रोपाइँ पुरा हुन सकेको छैन। असारभित्रै रोपाइँ सकिसक्नु पर्ने धान खेत आवश्यकता अनुसार वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो।

असार सुरुमै केही दिन वर्षा हुँदा किसानलाई रोपाइँमा भ्याई नभ्याई भएको थियो। तर,एक्कासि वर्षा रोकिएसँगै रोपाइँ पनि रोकिन पुगेको हो। साउन दोस्रो सातासम्म जिल्लामा ८० प्रतिशत हाराहारी मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। 

ज्ञानकेन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले साउन १३ गतेसम्म प्राप्त तथ्यांक अनुसार ८० प्रतिशत हाराहारी हिस्सामा रोपाइँ सम्पन्न भएको बताए।

उनका अनुसार पहाडी भूभागको खेतमा रोपाइँ लगभग सकिइसकेको छ तर, भित्री मधेस र तराई भेगको १ तिहाइ बढी खेतमा रोपाइँ गर्न बाँकी छ। पहाडी भेगमा सिँचाई सुविधा पुगेकाले धान रोप्ने काम सकिएको हो।

सिँचाई कुलो सुविधा पुगेको खेतमा रोपाइँ गरिसकिएको भए पनि तराई र भित्री मधेसको खेतमा आकाशे पानीको सिँचाई गर्नुपर्ने भएकाले वर्षा नहुँदा रोपाइँ गर्न रोकिने यादवले बताए।

वर्षा सामान्य रूपमा भइरहेकाे भए पनि खेतबारी भिज्ने र रोपाइँ गर्नेगरि पर्याप्त नभएकाले किसान चिन्तित हुनु परेको छ। समयमा वर्षा नभएकाले रोपाइँ गर्न नपाउँदा ब्याड हुर्केर काम नलाग्ने अवस्था भइसक्न लागेको किसानहरू बताउँछन्। साउनेको पहिलो साताभित्रै रोपाइँ सक्ने इरादा राखेका गाईघाटका किसान गोपाल चौधरीलाई यस्तै कुराले चिन्तित बनाएको छ।

‘साउन लाग्दै रोपाइँ गर्नेगरि ब्याड राखेको थिएँ, सबै हुर्किसकेको छ, अब त कामै नलाग्ला जस्तो भइसक्यो,’ चौधरीको चिन्ता छ,‘ब्याड हुर्केर घुँडा नाघिसक्यो, अहिलेसम्म पानी परेन, के गरी रोपाइँ गर्नु ?’

एक विगाह जमिनमा धान खेती गर्दै आएका चौधरीलाई अहिलेसम्म रोपाइँ सुरु गर्नै नपाएपछि भोकमरी लाग्ने चिन्ताले सताउन थालेको छ। ‘पोहोर परार यति खेरसम्म धान गोड्ने बेला भइसक्थ्यो, यस वर्ष रोपाइँनै गर्न पाको छैन, आउँदो बर्खा भोकै परिने डर छ,’ चौधरी भन्छन्।

कतिपय किसानले भने अघिल्लो वर्षाकै मौका छोपेर रोपाइँ गरिसकेका छन्। पहिलो छिमलको रोपाइँ सकेका किसानको रोपो सरेर गोड्ने बेला हुन लागिसकेको छ भने त्यो मौका गुमाउने किसानलाई रोपाइँ गर्नै पाउने कि नपाउने चिन्ताले सताउन थालेको छ।

समयमा पानी परेको भए यत्तिखेरसम्म रोपाइँ भइसक्नेमा पर्याप्त वर्षा नभएकै कारण रोप्न बाँकी रहेको किसान बताउँछन्।

मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रिइसकेको जानकारी दिएकाले पानी पर्छ भन्ने आसमा रहेका किसानहरू वर्षा नहुँदा झुक्किनु परेको छ। ‘१ डेढ घण्टा मात्र लगातार पानी परिदियो भने सबै रोपाइँ सकिन्थ्यो तर, पानी नै परेन,’ बेलका ९ का किसान कृष्ण दुलालको चिन्ता छ, ‘ब्याड हुर्किसक्यो, मौसमले छाडिसक्यो, पानी नपर्दा रोपाइँ गर्न पाइएन।’ ३ बिगाहा खेतमा धान फलाउँदै आएका दुलालले आधा जसो रोपाइँ गर्नै बाँकी रहेको सुनाए।

पहाडी भेगतर्फ रौतामाई, लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकाको टार, बेँसीका खेतबारी रोपो सरेर हरियै भइसकेको छ। तर, सदरमुकाम गाईघाटसमेत समेटिएको त्रियुगा नगरपालिका, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका समथर भूभागका खेतमा झण्डै आधा जसो रोपाइँ गर्न बाँकी छ। रोपाइँ गर्न बाँकी जमिन सबै आकाशे पानीको भरमा धान फलाउने खेत हो। 

वर्षा नभएपछि केही किसानले डिपबोरिङ गरेर पनि रोपाइँ गर्दैछन् भने त्यो क्षमता नभएका किसानहरू आकाशे पानीकै आसमा बसिरहेका छन्। तर, डिपबोरिङ गर्नेहरूका लागि पनि विद्युत् बेलाबेला अवरुद्ध हुँदा खेत हिल्याउन घण्टौँ लाग्ने समस्यामा छन्। 

एक बिगाहा खेत रोपाइँ गर्नका लागि हिल्याउन कम्तीमा ६ देखि १० घण्टासम्म मोटर चलाउनुपर्ने उनीहरुको भनाई छ। त्यसमा पनि बिचबिचमा बत्ती जाने समस्याले पानी जम्दाजम्दै सुक्ने समस्याले दिक्क लगाउने गरेको किसानको गुनासो छ।

उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर जमिनमा धान बाली लगाउने गरिएको तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ। जसमध्ये साउन १३ गतेसम्म १० हजार ७ सय ४ हेक्टर जमिनमा रोपाइँ भइसकेको छ। चाहिँदो वर्षा भएमा ५ देखि ७ दिनभित्र सबै खेतमा रोपाइँ भइसक्ने ज्ञान केन्द्र प्रमुख यादव बताउँछन्।

प्रकाशित: १८ श्रावण २०८३ १८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App