नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ नेपाल निर्माणका लागि युवालाई उद्यमशीलतासँग जोड्ने बताएका छन्।
मंगलबार भक्तपुरमा इको यूथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा बोल्दै उनले सामन्तवादको छालमा महिलालाई विभेद, अन्याय र अत्याचारको अवस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताए।
‘युवा महिलालाई उद्यमशीलता, तालिम र सीपमार्फत रोजगारी दिलाउन, सीपलाई वैधानिकता दिलाउन र आर्थिक सहयोग जुटाउन आफ्नोतर्फबाट प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए।
आमनेपाली युवा महिलाले उद्यमशील महिलाको जोश र ऊर्जा ग्रहण गर्नुपर्ने चर्चा गर्दै उनले कुनै राजनीतिक विशेष एवं सिद्धान्तभन्दा पनि पर रहेर रोजगारीको सृजनामा आफैँ लागेको देख्दा बन्दुक बिनाको सेनाझैँ लागेको बताए।
अध्यक्ष दाहालले भने, ‘युवा महिलाले अगाडि उभिएर जोश, उत्साह, समर्थन हेर्दा २१ औं शताब्दीमा नेपाली महिलाले पनि नयाँ प्रविधिमार्फत रोजगारी दृष्टिकोणका लागि हातमा सीप लिएर अगाडि बढ्नुले निकै उत्साह थपेको छ।’
कार्यक्रममा अध्यक्ष दाहालले एसियामै पहिलोपटक ठूलो कार्यशाला गरेकोमा प्राप्त एसिया बुक अफ रेकर्ड अवार्ड इको युथ नेपाललाई प्रदान गरे। माओवादीका नेता दिलीप प्रजापति र गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईलगायतले युवा महिलाको ठूलो भेलाले नेपालमै हातमा सीप लिएर केही गर्न सक्छु भन्ने विश्वास लिएकाले सरकारले यस्ता सीप भएका महिलाका लागि लगानी बढाउनुपर्ने बताए।
कार्यशालामा एकै दिन पाँच हजार युवा पुस्ताको सहभागिता थियो। युवा महिला र किशोरीलाई मेकअप सीप (शृंगारिक कला) सिकाउने उद्देश्यसहित आयोजना भएको कार्यक्रममा युथ इको नेपालका सचिव सुजन अधिकारीले मंगलबार बिहान १०:०० बजेदेखि एकैसाथ नौवटा हलमा ३० वटा सत्र संचालन भएको थियाे।
कार्यशालामा १०० भन्दा बढी प्रशिक्षक र ३०० स्वयंसेवक परिचालन गरी सम्पन्न गरेको बताउँदै युवा पुस्तालाई मेकअप कला र यसको व्यवसायबारे जानकारी गराएको बताए।
नेपालमा मात्रै नभई विश्वमै पहिलो यस्तो कार्यशाला भएको दाबी गर्दै उनले कार्यशालामा एसिया बुक अफ रेकर्ड राख्ने सफलता प्राप्त भएकोमा खुसी व्यक्त गरे। कार्यशालामा मेकअपसंग सम्बन्धित विभिन्न सीपहरू (फेस मेकअप, हेयर स्टाइलिंग, छाला परीक्षण, नेल आर्ट) लगायत सिकाइएको उनले बताए।
युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले कार्यशालाले हजारौँ युवालाई सीपसँग रोजगारी जोड्ने अभियानको पहिलो रूप भएको बताउँदै हरेक शनिबार युवा वर्गलाई मेकअप सीप सिकाउँदै आएको बताए।
आयोजकमध्येकै युवा व्यवसायी र समाजसेवी नरेश रञ्जितले हातमा सीप भएका तर लगानी नभएर अड्किएका युवा वर्गलाई सानो पूंजी दिएर व्यवसाय सुरु गर्न सहयोग गर्ने उद्देश्यले २० लाखको लगानी कोष निर्माण गरेको बताए।
हातमा सीप भएका तर लगानी गर्ने क्षमता नभएर अन्योलमा परेका युवा पुस्तालाई व्यवसाय सुरु गर्न यही कोषको रकमबाट लगानी गरिदिने उनले घोषणा गरे। कार्यशाला सहभागीलाई प्रवेश निःशुल्क गरिएको र सबैलाई प्रमाणपत्र वितरण गरिएको छ। रासस
प्रकाशित: २८ श्रावण २०८२ ०७:२४ बुधबार





