१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिशोधको राजनीति नगरी चुनावमा केन्द्रित हुन युवा संघको चेतावनी

<br>

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण रूपमा केन्द्रित हुन आग्रह गरेको छ। संघका अध्यक्ष क्षितिज थेबेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संगठनले सरकारलाई उक्त जिम्मेवारीमा सफल बनाउन तयार रहेको उल्लेख गर्दै राजनीतिक प्रतिशोधका गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।

थेबेले जेन-जी पुस्ताद्वारा अघि सारिएका मागहरूप्रति संघ सचेत रहेको बताउँदै ती मागहरूको सम्बोधनका लागि पनि संगठन निरन्तर पहलकदमीमा रहेको स्पष्ट पारे। विज्ञप्तिमा भनिएको छ, 'जेन-जीको आन्दोलनको जगमा गठित वर्तमान सरकारको प्रमुख जिम्मेवारी फागुन २१ मा प्रतिनिधिसभाको शान्तिपूर्ण, निष्पक्ष र भयरहित आम चुनाव गराउनु हो। हामी सरकारलाई उक्त महत्त्वपूर्ण जिम्मेवारीमा सफल बनाउन आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ।'

संघले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सरकारी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अनुसार जाँचबुझ आयोगले कुनै प्रमाण वा अनुसन्धानबिना प्रारम्भिक चरणमै पूर्वाग्रहका आधारमा यस्तो निर्णय गर्नु आपत्तिजनक छ। विज्ञप्तिमा भनिएको छ, 'आफ्नो सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पित गरेका, श्रीसम्पत्ति राज्यलाई सुम्पिएका र देश नछोड्ने घोषणा गरेका पूर्व प्रधानमन्त्रीजस्ता व्यक्तित्वलाई राहदानी रोक्काजस्तो कदम चालेर प्रतिशोध साधिनु अराजनीतिक कार्य हो।'

यस्तै, संघले एमाले पोलिटब्युरो सदस्य तथा संगठनका पूर्व इन्चार्ज महेश बस्नेतमाथि मुद्दा चलाउन खोजिएको समाचारप्रति पनि आपत्ति जनाउँदै सरकारले यस किसिमका प्रतिशोधपूर्ण क्रियाकलाप तत्काल रोक्नुपर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले गत भदौ २४ मा विध्वंसकारी गतिविधिमा संलग्न भएकाहरूलाई नियमित कानुनी कारबाही नगर्ने निर्णय गरेको विषयमा पनि युवा संघले गम्भीर आपत्ति जनाएको छ। संघका अनुसार यस्तो निर्णयले दण्डहीनतालाई प्रश्रय दिने र कानुनी शासनको उपहास गर्नेछ। संघले तत्काल निर्णय सच्याएर नेपाल प्रहरीको मनोबल उच्च राख्न सरकारलाई आग्रह गरेको छ।

सङ्घले जेन-जी आन्दोलनमा उठाइएका मुद्दाहरूको समाधानका लागि सरकारलाई निरन्तर सचेत रहन सुझाव दिँदै भनेको छ, 'वर्तमान सरकारले आम चुनावमार्फत मुलुकलाई पुनः लोकतान्त्रिक बाटोमा डोर्‍याउनेभन्दा अनावश्यक रूपमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधमा केन्द्रित भएको देखिन्छ। यसबाट टाढा रहँदै आफ्नो मूल उद्देश्यमा केन्द्रित हुन सरकारलाई चेतावनी दिन्छौँ।'

यसैगरी, ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव लक्ष्मण शर्माले पनि आजै एक विज्ञप्ति जारी गरी सरकारलाई निर्वाचनमा मात्र ध्यान केन्द्रित गर्न सुझाएका छन्।

प्रकाशित: १४ आश्विन २०८२ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App