उज्यालो नेपाल अभियानका प्रस्तावक एवम् नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले 'केही गर्छु' भन्नेहरूलाई अपमानित गर्ने प्रवृत्ति रहेको बताएका छन्। आइतबार (आज) नागरिक संवादमा कुराकानी गर्दै घिसिङले यस्तो बताएका हुन्।
यस्तो प्रवृत्तिले देशमा निराशा बाहेक केही नल्याउने भनाइ घिसिङको छ। विदेशमा रहेका युवाहरूको प्रसङ्ग जोड्दै उनले उनीहरूले त्यही बताउने गरेको बताए। कतार, बहराइन, ओमन र यूएईको भ्रमण सकेर भर्खरै नेपाल फर्किएका उनले भने, ‘गल्फ कन्ट्रीमा बसेका हाम्रा युवा साथीहरूले हामीलाई एयरपोर्टदेखि नै अपमानित गर्छन्, जाँदा पनि अपमानित गर्छन् र आउँदा पनि अपमानित गर्छन् भन्नुहुन्छ।’
उनले खाँडी मुलुक जानेहरूले नै देशको अर्थतन्त्र धानिरहेको भए पनि सम्मान गर्ने प्रचलन भने नरहेको बताए। ‘त्यत्रो देशको इकोनोमी धानेर बसेको, त्यो रेमिट्यान्स आएन भने देश कहाँ पुग्छ ? हामीसँग डलर हुन्छ ? हुँदै हुँदैन नि। त्यो धानेर बसेको श्रम-शक्तिलाई सम्मान पनि नहुने परिस्थिति आयो। देश निर्माण भएन। खाँडी क्षेत्रमा गएका; ३० वर्षसम्म बसेका साथीहरूले जुनबेला हामी आएका थियौँ, एउटा बाटो पीच भएको थिएन यिनीहरूको, अहिले आएर कहाँबाट कहाँ पुग्यो भन्नुहुन्छ,’ उनले भने।
करिब साढे सात अर्बको रेमिट्यान्स खाँडी मुलुक जाने युवाहरूले पठाएको उल्लेख गर्दै उनले भने, ‘श्रमको सम्मान नभएसम्म निराशा मात्रै हुन्छ। जति रेमिट्यान्स विदेशबाट आइरहेको छ, गल्फ कन्ट्रीबाट करिब साढे सात खरब आउँछ। १५ लाख जनसङ्ख्या त गल्फमै रहेछ। अब १५ लाख जनसङ्ख्याले, योङ जनसङ्ख्याले सात अरब, फिफ्टी पर्सेन्ट रेमिट्यान्स पठाउँछ। टोटलमा जम्मा १४ खरबजस्तो रेमिट्यान्स हुन्छ।’
आफ्नो कार्यकाल सकिन चार महिना अगाडि आफूलाई बर्खास्त गरिएको विषय उधिन्दै घिसिङले केही राम्रो गर्छु भन्नेहरूमाथि बर्खास्तको शृङ्खला चलाइने बताए। ‘व्यक्तिगत रूपमा त ठूलो कुरा होइन। मलाई चार महिना अगाडि बर्खास्त गर्दा मलाई त त्यति लस नहोला। तर, त्यसले दिने मेसेजचाहिँ ठूलो छ। राम्रो काम गर्ने मान्छेलाई; नौ महिनासम्म मैले पाँच छ वटा स्पष्टीकरणको जवाफ दिएँ। यो राम्रो काम गर्छु भन्ने जुन विषय छ, त्यसलाई चाहिँ निरूत्साहित गर्ने, अपमानित गर्ने भन्ने जुन प्रवृत्ति छ, त्यसले गर्दाचाहिँ निराशा जन्माउँछ।’
घिसिङलाई गत ०८१ चैत्र ११ गते पदबाट बर्खास्त गरेको हो। जबकि, उनको कार्यकाल ०८२ को असारमा सकिँदै थियो।
प्रकाशित: ४ श्रावण २०८२ २०:३१ आइतबार





