नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेस–एमाले रास्वपा भन्दा तन्नेरी पार्टी भएको दाबी गरेका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले राजनीतिक दल कहिल्यै पुराना नहुने भन्दै यस्तो बताएका हुन्।
‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन् । पुराना दलहरूको स्थान नयाँ दलले लिँदै छ भन्ने कतिपयका भाष्यहरू छन्,’ भट्टराईले भने, ‘कवीन्द्र (रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी) जीहरू त्यसमा आस गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर ।’
तर दाबी गरेर मात्रै कोही नयाँ नहुने उनले बताए। ‘दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो,’ उनले भने।
स्थापनाले जे सुकै भए पनि कांग्रेस–एमाले अहिले पनि नौजवान रहेको भट्टराईको दाबी छ। ‘एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो। कांग्रेस आज पनि नौजवान पार्टी हो,’ उनले भने, ‘कतिपय सन्दर्भमा कवीन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो ।’
प्रकाशित: २८ असार २०८२ १८:४२ शनिबार





