नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तातिरहेका बेला अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव योगेश भट्टराईबीच सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत ‘वाकयुद्ध’ सुरु भएको छ।
नेतृत्व नछाड्ने अध्यक्ष ओलीको अभिव्यक्ति सार्वजनिक भएको केही समयमै उपमहासचिव भट्टराईले एउटा व्यङ्ग्यात्मक कथा राख्दै कटाक्ष गरेका हुन्।
पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू तत्काल नेतृत्वबाट बाहिरिने पक्षमा नरहेको प्रष्ट पारेका थिए। ‘अहिले नै मर्ने छाँट छैन, त्यसैले झोला बीचैमा फ्याँक्दिनँ,’ ओलीले भनेका थिए।
उनले नेतृत्व परिवर्तनको माग गरिरहेका पक्षलाई लक्षित गर्दै शिर काटेर संगठन बलियो नहुने दाबी समेत गरे। ओलीले संगठनभित्र बसेरै जग खन्ने र एकताको नाममा विभाजन ल्याउने प्रवृत्ति खतरनाक रहेको औंल्याएका थिए।
‘शिर काटेर टेबलमा राखेपछि संगठन बलियो हुन्छ भन्ने भ्रम पाल्नेहरूलाई बुझ्न जरुरी छ। व्यक्ति हटाएर विचार हट्दैन, न त नेतृत्व कमजोर बनाएर आन्दोलन बलियो हुन्छ।’ उनले भनेका थिए।
उनले बाहिरका विरोधीभन्दा भित्रका अवसरवादीहरू पार्टीका लागि बढी घातक हुने टिप्पणी समेत गरेका थिए।
अध्यक्ष ओलीले पार्टीभित्रको गुटबन्दीप्रति आक्रोश व्यक्त गर्दै आलोचनाको नाममा संगठन कमजोर पार्ने गतिविधि राजनीतिक चेतना नभई व्यक्तिगत स्वार्थ मात्र भएको व्याख्या गरे।
उनले अहिलेको आवश्यकता ‘शिर खोज्ने’ नभई ‘जिम्मेवारी बोक्ने’ हरूको भएको दाबी गर्दै समयले सबैको नियत र भूमिकाको मूल्याङ्कन गर्ने बताए।
अध्यक्ष ओलीको यो अभिव्यक्ति सार्वजनिक भएको केही बेरमै उपमहासचिव योगेश भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशन (जनकपुर) को एउटा प्रसंग स्मरण गर्दै ओलीमाथि प्रहार गरेका हुन्।
उनले फेसबुकमा एक वृद्ध मानिसको कथा उल्लेख गर्दै ओलीको ‘मैले गर्दा पार्टी जोगिएको हो’ भन्ने आशयको घमण्डमाथि प्रश्न उठाएका हुन्। भट्टराईले लेखेका छन्, ‘एकजना बुढा मानिस बसमा चढेछन्। सिट खाली भए पनि उनी बसेनन्, बरु उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाते। बाटो उबडखाबड थियो, बस गुड्न सुरु गर्यो। बस दायाँ ढल्किँदा बुढाले डन्डीलाई जोडले बायाँ तान्थे, बायाँ ढल्किँदा दायाँ तान्थे। बस गन्तव्यमा पुगेपछि ती बुढाले गर्व गर्दै भने, आज तपाईंहरू सबै मेरो कारणले बच्नुभयो, पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले नै जोगाएँ।’
उपमहासचिव भट्टराईले अगाडि लेखेका छन्, ‘आज मलाई यो कथाको खुब सम्झना भयो।’
ओलीले पार्टीको रक्षा आफैँले मात्र गरिरहेको दाबी गरिरहँदा भट्टराईले त्यसलाई ‘बुढाको बस यात्रा’ सँग तुलना गरेर नेतृत्वको औचित्यमाथि प्रश्न उठाएका हुन्।
प्रकाशित: २० जेष्ठ २०८३ १८:५१ बुधबार





