१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कार्यस्थल सुरक्षित होस्, पारिश्रमिक उचित होस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिएका छन्। १३७औँ दिवसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले ‘कार्यस्थल सुरक्षित होस्, पारिश्रमिक उचित होस्’ भनेका छन्।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी शुक्रबार नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ।

फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय गरेअनुरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्।

नेपालमा विसं २००७ मा भएको विराटनगर मजदुर आन्दोलनसँगै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको इतिहास छ। विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सार्वजनिक बिदा दिन थालेको हो।

नेपालमा ६० को दशकपछि सरकारी तवरबाटै विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिँदै आइएको छ।

प्रकाशित: १८ वैशाख २०८३ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App