१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कागजको जवानी विम्ब

पुस्तक

कविता विचारको विम्ब हो। यो हरेक कविको विचार र आयतनसँग जोडिएको भए पनि दृष्टिकोणका हिसाबले फरक हुन्छ। कवितामा हुनुपर्ने अर्को महत्त्वपूर्ण पाटो भनेको भाव र सौन्दर्य चेत हो। जहाँ शब्द छनोट र बुनोटको भूमिका मुख्य हुन्छ। यो कतै गहन त कतै विचरण गरेर हिँड्छ। कतै बग्छ र कतै अवरोधको सामना गर्छ। एउटा आह्वान के छ भने ‘धारिलो औजारले काटेको ठाउँ चिल्लो हुन्छ।’ कविताको परिभाषा र सार यही हो।

हामीले कुमारीत्वको चर्चा अग्रजबाट सुन्दै आएका छौं। यो पवित्रता र कुलीन विरासत पनि हो तर यहाँ मैले चर्चा गर्न लागेको विषय भने कागजको कुमारीत्वसँग सम्बन्धित रहेको छ। के कागजको कौमार्य हुन्छ ? कि त्यसमा शब्द छापिएपछि त्यो रजस्वलापछिको पवित्र नारी बन्छे ? र आफ्ना सन्तानलाई यो धरतीको मनोरम सौन्दर्य देखाउँछे ? (शास्त्रमा नदीलाई बाढी, तामालाई अमिलो, काँसलाई खरानी र नारीलाई रजस्वलाले शुद्ध पार्छ भनिएको छ।) यसको जवाफ त्रिविक्रम पाण्डेले देलान्। म भने उनका कविताका केही बान्कीहरू प्रस्तुत गर्न चाहन्छु।

एकदिन उडेर गइनेछ

तस्बिरबाट रङ उडे जसरी।

जीवनको बोध धेरैलाई छ, फेरि ऊ अहम् बोकेर नै हिँड्छ। म मर्छु भन्ने ज्ञान भएर पनि चित्रको रङ घामपानीले बिग्रिएको देख्दैन। आखिर मानिसले सत्यलाई कसरी लुकाउँछ ? यो कविताबाट बुझ्न सकिन्छ।

परीक्षा बनेको छ जिन्दगी

उब्जेका छन् केही उत्तरहरू।

परीक्षामा हरेकले प्रश्नपत्रको सामना गर्छन् तर कविले त उत्तर उब्जिएर हैरान बनेको अनुभव गर्छन्। फेरि पनि जिन्दगी एक परीक्षा त हुँदै हो, जहाँ आफूलाई उत्तीर्ण गराउनका लागि हरेक परीक्षामा सामेल हुनैपर्छ।

यदि चन्द्रमा धरतीमा हुन्थ्यो त

भयंकर विवादमा हुन्थ्यो

अदालतको कचहरीमा हुन्थ्यो।

हामी आफूलाई अब्बल साबित गर्ने प्रयास गर्छौं तर हामीले आफू खराब भएको पत्तो पाउँदैनौं। कवि भन्छन्, मेरो कुरा तिमीले गर्नैपर्दैन। त्यो चन्द्रमा पनि धरतीमा हुन्थ्यो भने विवादमा रुमलिएर अदालतको कठघरामा बयान दिइरहेको हुन्थ्यो। तसर्थ, प्राप्तिको आशालाई बिर्सेर राम्रा कर्म गर्ने उनको अभिलाषा देखिन्छ। फेरि पनि हामीले आफ्नो हैसियतअनुसारको सपना देख्नका लागि सुझाव दिन्छन्।

असंख्य सपना देख्छन् यी आँखाहरू

कहिले आफ्नो हैसियतमा रहेर

त, कहिले आफ्नो हैसियतभन्दा बाहिर गएर।

गएको थिएँ मन्दिर गल्ती सच्याउन

तर अफसोच !

मैले फेरि, अर्को एउटा थप अपराध गरेँ।

हामी गल्ती नहोस् भन्ने चाहना गर्छौं तर फेरि त्यही यात्रामा सधैं अगाडि छौं भन्ने यो दृष्टान्त प्रेरणादायी मात्र होइन, मननयोग्य समेत छ।

उठ, खोलिदेऊ सबै झ्याल र पर्दा

सास लिन चाहन्छन् कोठाहरू।

मानिस समय र यन्त्रको बन्दी बन्दै गएको छ। यो उकुसमुकुसले अक्सिजनको कमीका कारण हाम्रो जीवन नरहन पनि सक्छ। हामी स्वतन्त्र रूपले सास लिन चाहने हो भने हामीले झ्याल र पर्दाहरू समयमा नै खोल्नुपर्छ। यसले इंगित गरेको अर्को विषय भनेको देशप्रेम र छिमेकीको थिचोमिचोलाई समेत उजागर गरेको छ।

तिमी आफूमा सबै सफलताहरू खोज

कमी–कमजोरी खोज्नका लागि त मान्छेहरू छँदैछन्।

उनका कवितामा केही भारतीय गजलको समेत प्रभाव परेको देखिन्छ। यो कविताको अंगलाई हेर्‍यौं भने हामीले उनको भावलाई बुझ्न सक्छौं। सकारात्मक तरिकाले बुझ्ने हो भने हामी आफ्ना लागि सबैथोक हौं। तसर्थ, सधैं आफूलाई राम्रो लागेको गर भन्ने सन्देश उपयुक्त नै छ।

कवि हुन सरल छ

तर, एउटा राम्रो कविता रच्न जटिल छ।

कवि के हो ? कवि हुन के चाहिन्छ ? भन्ने विषयको व्याख्या गर्नुभन्दा मैले उनको भावलाई राखिदिए पनि पाठकलाई सजिलो हुन्छ। यही सोचेर उनको यो कविता लिएँ।

पाण्डेका कविताको मुख्य स्रोत प्रेम र समाज हो। प्रेममा आमा, बा, श्रीमती प्रमुख छन्। यिनी प्रकृतिप्रेमी भए पनि प्रकृतिको सुगन्ध र सौन्दर्य कवितामा कम छ। कतै सचेतना र कतै आक्रोश छ। मृत्युचेतना छ र सकारात्मक कर्मको चाहना पोख्छन्। कुनै कवितामा गीत र कुनैमा गजलको सौन्दर्य भए पनि त्यो स्वाभाविक कविताको भारमा अडिएको छ। आफ्नो र पराया चिन्नका लागि धेरै केही गर्नु पर्दैन, मात्र तपाईं एक पटक लड्नुहोस्, थाहा पाउनुहुनेछ– को पराया हो र को आफन्त ? उनको यो चेत हाम्रा लागि एउटा पथप्रदर्शक पनि हो।

कविताले भावद्वारा सन्देशको प्रवाह गर्छ। विषयको अन्तर्य खोज्छ र गुण–दोषको तुलना गर्छ। जहाँ एउटै कवितामा भिजेर सकिन्छ पाठक, कतै छाती त कतै आँखा छामेर। छोटा कविताको प्रस्तुत भएको यो कृति एउटा ऐना हो। जुन फुटे पनि हरेकले देखाउँछन् आकृति। कतै बर्खे झरी र कतै शिशिरको तुषारो खेपेको मन बराबरी बग्न कहाँ सक्छ र ? जहाँ जसरी फैलिने कोसिस गरेको छ, यो प्रयास नै अन्तिम सत्य हो।

पाठकको मनमा कविता पढ्दा आउने एउटा विचार के छ भने मन माझिएर बाहिर निस्किएका शब्दले किन बराबर आकार ग्रहण गरेनन्? किन आफ्नो फैलावट, उचाइँ र शरीरको भार मापन गरेनन् ? विम्बको उज्यालो छायालाई दृष्टिविन्दुको चापले किन ढाक्यो ? भन्ने प्रश्न आउन सक्छन्। यो स्वाभाविक पनि हो। म यो विषयलाई स्वीकार गर्छु।

मैले जति कुरा लेखे पनि लेखकले भनेको मान्ने हो भने मैले बयान गरेको विषयको अर्थ छैन तर सचेत पाठकले लेखकलाई फुक्र्याउने मात्र होइन, आवश्यक सल्लाह र सुधारका पाटाहरू केलाउनुपर्छ। यो नै सच्चा पाठकीय धर्म हो।

कविता लेख्नका लागि गणितका शुद्ध सूत्रहरूको खाँचो छैन।

प्रकाशित: १६ श्रावण २०८३ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App