उदयपुरका जेन–जेड महिलाहरुको एक समूहले मोटरसाईकल यात्रा गरेको छन् । ‘महिला सशक्तीकरण, आत्मनिर्भरता र समान अधिकार’को सन्देश फैलाउन मङ्गलबार जेनजेड महिला टोलीले मोटरसाईकल यात्रा सम्पन्न गरेको हो ।
सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक (पिपल) चोकमा विहान ११ः०० वजे सुरु भएको यात्री टोली ५५ किलोमिटर पूर्व सुनसरी र उदयपुरको सीमास्थल बेलका नगरपालिका ८ चतारा पुगेर फर्केको छ । ‘महिला बाईक राईडर, उदयपुर’ले आयोजना गरेको मोटरसाइकल यात्रा टोलीलाई प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले गाईघाटमा खादा र माला ओढाएर विदाई गरेका थिए ।
महिला बाईक राईडर उदयपुरकी संयोजक रमा मगरले समाजमा विद्यमान महिलामाथिको शोषण, दमन, हिँसा र अपहेलनाविरुद्ध सशक्तिकरणका लागि मोटरसाईकल यात्रा आयोजना गरिएको बताईन् । समाजले अहिले पनि महिलाप्रति हेर्ने दृष्टिकोणमा खोट रहेको भन्दै उनीहरुको आत्मबल बढाउदै समानता र अवसरको न्यायपूर्ण सहभागिताको आवाज उठाउन कार्यक्रम गरेको उनको भनाई छ ।
‘महिलाहरु कुनै पनि कुरामा कमजोर छैनन्, हुदैनन्, उनीहरू पनि हरेकक्षेत्रमा सक्षम र नेतृत्वदायी भूमिका खेल्न सक्छन् भन्ने सन्देश दिन यो यात्रा गरिएको हो’ संयोजक मगरले भनिन् ‘यो यात्राले महिलाहरु कुनै पनि कुरामा पुरुषभन्दा कमजोर छैनन् भन्ने भाष्य खडा गर्ने अपेक्षा गरेका छौँ ।’
यात्रामा विभिन्न पेशा, व्यवसाय तथा सेवाक्षेत्रमा सहभागी जेनजेड पुस्ताका ५० बढी महिलाको सहभागितामा रहेको मगरले बताएकी छिन् । यात्राको क्रममा महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी जनचेतनामूलक सम्बाद कार्यक्रम पनि राखिएको छ ।
‘साहसी महिला, हामी पछि छैनौँ’ भन्ने सन्देश लेखिएको प्लेकार्ड हेलमेटमा टाँसेर यात्रामा निस्केको मोटरसाइकल यात्रा टोलीलाई मदन भण्डारी लोकमार्गको गाईघाट–चतारा खण्ड अन्तर्गत चौदण्डीगढी नगरपालिका मुकाम बेलटारमा नगर उपप्रमुख मणिकादेवी दुलालले, बेलका नगरपालिका मुकाम रामपुरमा बेलका नगर उपमेयर जिरा राईले स्वागत गर्ने गरेका थिए ।
दिउँसो २ः०० वजे बेलका ८ चतारा पुल पुगेर फर्केपछि सोमबारेस्थित बेलका बीच रिसोर्टमा स्थानीय अगुवाहरुसँग महिला सशक्तिकरणका विषयमा १ घण्टा अन्तरक्रियात्मक छलफल गरिसाँझमा यात्री टोली गाईघाट फर्केको छ ।
प्रकाशित: १५ पुस २०८२ १८:५६ मंगलबार




