१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेन्द्रलाई शुभकामना दिँदै महेशले भने: अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंको

नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डललाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवा नेतृत्वको आगमनलाई स्वागतयोग्य भनेका हुन्।

बस्नेतले नयाँ सरकारका लागि यो समय उत्साह र चुनौती दुवै भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘नयाँपन र युवा नेतृत्व स्वागतयोग्य छ। आजको दिनमा युवा मन्त्रिमण्डल आशा पनि हो र परीक्षा पनि। देशले अवसर दिएको छ, अब आफ्नो जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईँहरूको काँधमा छ।’ अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुने भन्दै उनले अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गरेर अघि बढ्न सुझाव दिएका छन्।

जनताको स्थिरता, विकास र समृद्धिको एजेन्डा पूरा गर्न यो टिमले परिणाम दिनुपर्नेमा उनले जोड दिएका छन्। बस्नेतले अगाडि लेखेका छन्, ‘स्थिरता, विकास र समृद्धिको जनताको चाहना पूरा गर्न यो टिमले नतिजा दिन सक्नुपर्छ। जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढताका साथ सन्तुलन कायम गर्दै सत्ता अवसर होइन, उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला।’

अनुभव र ऊर्जालाई संयोजन गर्दै सबै पक्षसँग सहकार्य गरे मात्र जनताको भरोसा बलियो हुने उनको तर्क छ। सरकारका सकारात्मक निर्णय र पहलमा रचनात्मक सावधानीसहित आफ्नो साथ र सहयोगी भूमिका रहने पनि उनले स्पष्ट पारेका छन्।

प्रकाशित: १३ चैत्र २०८२ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App