सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बराबरकै २ करोड ७४ लाख बुझाउँदै थुना बाहिरबाट मुद्दा लड्न पाऊँ भनेका छन्। उनले थुनामुक्त हुनका लागि आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको बैंक जमानत रुपन्देही जिल्ला अदालतमा बुझाएसँगै बाहिरैबाट मुद्दाको सामना गर्न पाउनुपर्ने माग गरेका हुन्।
उनले आफूमाथि लगाइएको अभियोगअनुसारको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टीसहित निवेदन पेस गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ को व्यवस्थालाई आधार बनाउँदै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न दिन माग गरेका छन्।संहिताको दफा ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने तथा दफा ७१ मा मुद्दाको जुनसुकै अवस्थामा पनि यस्तो व्यवस्था लागू गर्न सकिने प्रावधान छ।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले पनि निवेदनसँगै बैंक ग्यारेन्टीसहितको खाम पेस भएको पुष्टि गरे। लामिछानेको निवेदन दर्ता भएपछि अदालतले विपक्षीलाई जानकारी दिने आदेश दिएको थियो, तर मंगलबार र बुधबारको पेसी स्थगित भएको थियो। हाल यो मुद्दा न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा सुनुवाइको पर्खाइमा छ।अब अदालतले उनको निवेदनमाथि के निर्णय गर्छ भन्ने विषय प्रतीक्षामा रहेको छ।
प्रकाशित: २३ श्रावण २०८२ ०८:४५ शुक्रबार





