नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बालेन्द्र शाह (बालेन) को उदयलाई ऐतिहासिक राजनीतिक रूपान्तरणको संज्ञा दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निधिले पहिलो पटक मधेशी मूलको व्यक्ति प्रधानमन्त्री बन्न लागेको कुराले हर्ष भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा धनुषा-३ बाट पराजित भएका उनले आफ्नो हारको पीडाभन्दा शाहको सम्भावित प्रधानमन्त्रीत्वलाई लिएर खुसी व्यक्त गरेका हुन्।
‘बालेन साह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलो पटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदैछ। यो असली र ऐतिहासिक राजनीतिक रुपान्तरण हो-पुस्तान्तरण मात्र होइन। देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ,’ निधिले लेखेका छन्।
धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झासँग पराजित भएका निधिले अगाडि भनेका छन्, ‘म चुनाव हारे पनि साह्रै हर्षित छु। बालेन साहलाई बधाई छ !’
झापा-५ बाट रास्वपा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका छन्। रास्वपा बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा गएको थियो।
प्रकाशित: ६ चैत्र २०८२ १३:०० शुक्रबार





