६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतान्याहुको आश्वासनपछि तेलको मूल्य घट्यो

मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबीसहित ऊर्जा पूर्वाधारमा थप आक्रमण नहुने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य शुक्रबार घटेको छ। यद्यपि द्वन्द्व कायमै रहेकाले ऊर्जा बजारमा अनिश्चितता अझै कायम रहेको देखिएको छ।

नेतान्याहुले पत्रकार सम्मेलनमार्फत इरान ‘विनाश हुँदै गएको’ र इजरायल तथा संयुक्त राज्य अमेरिका ‘विजयको दिशामा अघि बढिरहेको’ बताए। उनका अनुसार इरानसँग अब युरेनियम समृद्ध गर्ने वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्ने क्षमता नरहेको दाबी गरिएको छ। साथै युद्ध अपेक्षाभन्दा छिटो अन्त्य हुने विश्वास व्यक्त गरिए पनि स्पष्ट समयसीमा भने दिइएको छैन।

उनले संयुक्त राज्य अमेरिकासँग मिलेर स्ट्रेट अफ होर्मुज सुरक्षित बनाउने प्रयास भइरहेको पनि उल्लेख गरे। विश्वव्यापी तेल र ग्यास आपूर्तिको झण्डै पाँचौँ हिस्सा यही मार्गबाट पार हुने भएकाले यसको सुरक्षा अत्यन्त संवेदनशील मानिन्छ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानी ऊर्जा पूर्वाधारमा थप आक्रमण नगर्न सुझाव दिएको बताए। उनले आफूले प्रधानमन्त्रीसँग कुरा गरेर यस्तो आक्रमण नगर्न आग्रह गरेको र त्यसलाई मानिएको दाबी गरे। यसअघि इजरायलले दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामाथि प्रतिशोधको चेतावनी दिएको थियो।

तेल बजारमा यी सङ्केतहरूको प्रभाव तत्काल देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९८ डलर आसपासमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९४ डलरमा कारोबार भएको छ। यसअघि तेहरानले खाडी क्षेत्रका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेपछि मूल्य तीव्र रूपमा बढेको थियो। युरोपेली ग्यासको मूल्यसमेत एक चरणमा एक तिहाइभन्दा बढीले उकालो लागेको थियो।

तर युद्ध चौथो हप्तामा प्रवेश गरिसक्दा पनि जोखिम हटेको छैन। इरानद्वारा होर्मुज मार्ग प्रभावकारी रूपमा बन्द गरिँदा ऊर्जा आपूर्ति अवरुद्ध हुने डर अझै कायम छ। यसैबीच, इजरायलले शुक्रबार तेहरानमा थप हवाई आक्रमण सुरु गरेको छ भने इरानले ड्रोन हमलापछि कुवेतको तेल प्रशोधन केन्द्रमा आगलागी गराएको जनाइएको छ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले होर्मुज क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घको संयन्त्र बनाउने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल अघि बढाउने योजना रहेको बताएका छन्, तर यो पहल युद्धविरामपछि मात्र सम्भव हुने सङ्केत गरिएको छ।

युद्धको प्रभाव विश्व वित्तीय बजारमा पनि देखिएको छ। वाल स्ट्रिटले केही समय सुधार देखाए पनि एसियाली सेयर बजारहरूमा व्यापक गिरावट आएको छ। हङकङ, साङ्घाई, सिड्नी, सिङ्गापुर, ताइपेई र वेलिङ्गटनमा बजार ओरालो लागेको छ भने सियोल, मुम्बई र बैङ्ककमा सामान्य वृद्धि देखिएको छ। टोकियोमा भने सार्वजनिक बिदाका कारण कारोबार बन्द थियो।

विश्लेषकहरूका अनुसार नेतान्याहुको आश्वासनले बजारमा केही समयका लागि राहत दिएको भए पनि दीर्घकालीन प्रभाव तत्काल हट्ने अवस्था छैन। एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सका अनुसार यस्तो टिप्पणीले आपूर्ति अवरोध छोटो अवधिमा सीमित हुन सक्छ भन्ने धारणा बलियो बनाएको छ। तर ऊर्जा पूर्वाधार पुनर्निर्माण, आपूर्ति सञ्जालको पुनःस्थापना र विश्वव्यापी ढुवानीमा विश्वास फर्काउन समय लाग्ने भएकाले सङ्कटको प्रभाव तत्काल अन्त्य नहुने उहाँको विश्लेषण छ। एएफपी

प्रकाशित: ६ चैत्र २०८२ १६:२२ शुक्रबार