सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएकी छन्।
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार आज साँझ गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका-४ निवासी ३६ वर्षीया केशरी कुँवर सामान्य घाइते भएकी छन्।
दुर्घटनालगत्तै प्रहरी चौकी दोभानबाट खटिएको टोलीले दुवै घाइतेलाई उद्धार गरी तत्काल अस्पताल पठाएको थियो।
ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।
प्रकाशित: ९ कार्तिक २०८३ २१:५७ सोमबार





