२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जब नर्सले तोसिमालाई बाहिर गएर कन्टेन्ट बनाउन भनिन्...

जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको उपचारका कारण गत सोमबार र मंगलबार काठमाडौं उपत्यकासहित देशैभरका अस्पतालहरु अत्यन्तै व्यस्त बने । घाइते युवाहरुको एकपछि अर्को गर्दै मत्यु हुन थालेपछि अस्पतालमा तनावपूर्ण वातावरण बनेको थियो। दिनभरमात्र हैन रातभरी पनि दर्जनौंको संख्यामा आफन्तहरु अस्पतालमा आफ्ना बालबच्चाको स्वास्थ्य अवस्थाको ख्याल राख्न जम्मा भएका थिए । सम्पर्कविहीन भएका आफ्ना बालबच्चा खोज्ने आफन्तहरुको उपस्थिति पनि उस्तै थियो ।  

आन्दोलनको मुख्य केन्द्र नयाँ बानेश्वरस्थित संघीय संसद भवनको विपरित दिशामा रहेको निजामती कर्मचारी अस्पताल अर्थात् सिभिल अस्पताल पनि उत्तिकै व्यस्त बन्यो । एकपछि अर्को गर्दै घाइतेहरुलाई युवाहरुले आफैं बोकेर समेत अस्पताल पुर्याएका थिए । आकस्मिक कक्षमा ठाउँ नभएपछि घाइतेहरुलाई भुईंमै राखेर उपचार सुरु गरिएको थियो । साढे चार सय बढी बिरामीको उपचार सिभिल अस्पतालमा मात्रै भएको थियो । यो बीचमा एप्रोन र हातमा ग्लब्स लगाएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की तत्कालिन सांसद डा.तोसिमा कार्कीको व्यस्तता पनि सिभिल अस्पतालमा पछ्याउन लायक थियो ।  

राजनीतिक दल र नेताहरु विरुद्ध जेनजी समूहले छेडेको यो आन्दोलनको पर्वाह नगरी उनी अस्पतालमा खटिएकी थिइन् । उनलाई पछ्याउने र चिन्ने समर्थकहरु अघिपछिपछि थिए । केही जेनजी युवाहरु राजनीतिक अवस्थाको पछिल्लो घटनाक्रमबारे जानकारी माग्दै गरेको पनि भेटिए । अश्रुग्यासको सेल अस्पतालसम्मै पुगेका समय उनी बाहिर निस्किएर जोगिएर काम गर्न भन्थिन । सुरक्षाकर्मीको उक्त कदमको विरोध गरिन् । आकस्मिक कक्षमा पुगेर चिकित्सक र नर्सलाई संयमित भएर काम गर्न सम्झाउथिन् । घाइतेको नजिक गएर कानैमा नआत्तिन अनुरोध गर्थिन । अनि आफन्तलाई हिम्मत राख्न र धैर्य गर्न भन्दै थिइन् । उनको यो व्यस्ततामा उनका सहयोगीहरु उनको मुभमेन्ट कभर गर्न व्यस्त थिए ।  

डा.कार्की हरेक क्रियाकलापलाई कैद गर्थिन् । पछाडि, अगाडि, दायाँ र बाँयाबाट आफ्नो हात घुमाउँदै मोबाएलमा आफ्नो भिडियो बनाउथिन् । उनको व्यस्तता यति धेरै थियो कि सांसदमा भन्दा चिकित्सकका रुपमा बढी सक्रिय देखिन्थिन् । कुनै घटना भए सांसदको लोगो गोजीभित्र राखेर एप्रोन लगाउँदै घटनास्थलमा पुग्ने उनको बानी नयाँ भने हैन। इलामका एक युवाले आफैंलाई आगो लगाएर आत्मदाह गर्दा उनी क्यामरासहित आईसीयूमा प्रवेश गरेकी थिइन् । जुन विवादित भाइरल भिडियो बन्न पुग्यो । उनी अन्य विभिन्न स्थानमा पुग्ने र आफूलाई क्यामरामा कैद गर्नमा पनि सोखिन छन् ।  

सोमबार दिनभर सिभिलमा व्यस्त बनेकाी तोसिमा मंगलबार देखिइनन् । उक्त दिन विभिन्न स्थानमा आगजनीको क्रम उच्च थियो । तर बुधबार, अघिल्ला दुई दिनको प्रदर्शनका क्रममा भएका फोहोर सफा गर्ने कार्यक्रममा उनी फेरि सिभिल अस्पतालमा देखिइन् । गम्भीरसहित ५० बढी घाइतेहरुको अस्पतालमा उपचार जारी थियो ।  

डा.कार्कीले मेट्रोनलाई बोलाइन् र अस्पतालको सरसफाइमा उनै घाइतेहरुलाई पनि साक्षी राख्न भनिन् । अस्पतालको शैयामा रहेका आन्दोलनका घाइतेलाई बाहिर निकालेर लाइन लगाउँदै सरसफाइको भिडियो खिच्ने उनको चाहाना प्रष्ट देखिन्थ्यो । मेट्रोन उनको आशय र भनाइमा के जवाफ दिने भनेर सोच्दै थिइन् । उनलाई राम्ररी जानकारी थियो कि जुनसुकै प्रकारका बिरामीलाई पनि यसरी बाहिर निकालेर लाइन लगाउँदै सरसफाइको साक्षी राख्नु चिकित्सकीय धर्म विपरित हुनेछ । टाउको, हातखुट्टासहित शरीरका विभिन्न अंगमा घाउ लागेका घाइतेहरु उभिन नसक्ने अवस्थामा थिए । तर चिकित्सकसमेत रहेकी कार्कीलाई यो कुराको हेक्का थिएन वा भएर पनि देखाउन चाहन्न थिइन् ।

घाइतेलाई बाहिर निकालेर सरसफाइ गरे कन्टेन्ट राम्रो बन्ने बताएपछि मेट्रोनसँगै रहेकी अर्की नर्स रिसाइन् । भनिन्, माननीय ज्यू, घाइतेहरुलाई बाहिर ल्याउने कुरा त कल्पना पनि नगर्नुहोस् । त्यो हाम्रो धर्मले दिँदैन । कन्टेन्ट तपाईं बाहिर  गएर बनाउनुहोस्, यहाँ सम्भव छैन । रह्यो सरसफाइको कुरा, अस्पतालको हाताभित्र सरसफाइ गर्ने कुरा अस्पतालको जिम्मा हो यसमा तपाईंले तनाव लिन आवश्यक छैन । तपाईं देशको सरसफाइमा ध्यान दिनुहोला । यसमा नै सबैको भलाइ हुनेछ ।  

नर्सको यो भनाइपछि डा.तोसिमाले फेरि घाइतेलाई ल्याएर भिडियो बनाउने दुस्साहस गर्न सकिनन् । केही समय अस्पतालभित्रको सरसफाइमा देखिएकी डा.कार्की सो पछि भने अस्पताल हातामा छिरेकी छैनन् । 

प्रकाशित: २८ भाद्र २०८२ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App