सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार निर्धारित समयभन्दा एकघण्टा ढिलो बन्दसत्र सुरु भयो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र ढिलो सुरु हुनुको कारण दर्शाउँदै अघि बढाए। बन्दसत्र ढिलो हुनुको कारण थियो– प्रदेशमन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएर घाइते बनाउनु। कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले हरिसिद्धि उकालोमा एक बालिकालाई ठक्कर दिएपछि सडक अवरुद्ध हुँदा बन्दसत्र निर्धारित समयमा सुरु हुन नसकेको हो। उनी इलाम क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन्।
बालिकालाई गाडीले ठक्कर दिएपछि मन्त्रीले गाडी रोक्न लगाउनु पथ्र्यो, झरेर सोधपुछ गरी ती बालिकालाई अस्पताल पुर्याउने व्यवस्था गर्नुपर्थ्याे तर यी काम मन्त्री रानाबाट नभएपछि स्थानीय आक्रोशित भए। उनी आफ्नो नैतिक र मानवीय दायित्व दर्शाउनबाट चुकेपछि स्थानीय विरोधमा उत्रिए। यो घटनापछि सामाजिक सञ्जालमा मन्त्री रानाका विषयमा फरकफरक धारणा प्रवाह भएको देखिन्छ। उनलाई विगतदेखि नजिकबाट चिनेका केहीले मान्छे त राम्रै हुन तर यहाँ किन विवेक गुमाए? गाडीले बालिकालाई ठक्कर दिएको थाहा पाएनन् कि भनेका छन्। अर्काथरीले गाडीले बालिकालाई ठक्कर दिएपछि कसरी थाहा नपाउने भन्ने हुन्छ भन्दै रोश प्रकट गरेका छन्। यो समाचार तयार पार्दासम्म मन्त्रीले आफ्नो गल्ती स्वीकार गरी माफी मागेका छैनन्। के भएको थियो?
एमाले विधान महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सहभागी हुन बिहान प्रतिनिधिहरू महाधिवेशनस्थल गोदावारीस्थित सनराइज सभाहलमा जाने क्रम जारी थियो। महाधिवेशनस्थलमा जानेक्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राना चढेको गाडीले हरिसिद्धिको उकालोमा ११ वर्षीया बालिकालाई ठक्कर दियो। ठक्करबाट ती बालिका घाइते भइन्। ठक्करपछि सडकमै ढलेकी बालिकालाई वास्तै नगरी मन्त्री चढेको गाडी अघि बढ्यो।
स्थानीयले बालिकाको उद्धार गरे। उनलाई उपचार ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा लगियो। उपचारपछि साँझ उनलाई डिस्चार्ज गरिएको छ। बालिकालाई गाडीले ठक्कर दिएपछि स्थानीयले सडक अवरोध गरेका थिए। अवरोधका कारण एमाले विधान महाधिवेशनका प्रतिनिधि सभाहलमा पुग्न ढिला हुँदा पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलो बन्दसत्र सुरु भएको थियो।
गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी बन्दसत्रमा गराएका थिए।
बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएकोमा आपत्ति जनाएका थिए। उनले भने, ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु। कहिलेकाहीं यस्ता अप्रिय घटना हुन्छन्। नहुनुपर्ने घटना तर भइदियो। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो।’
प्रकाशित: २२ भाद्र २०८२ ०९:३७ आइतबार




