प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट घाटामा रहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकारले ल्याएको बजेट ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको घाटामा रहेको बताउँदै उक्त रकमको स्रोत के हो भनि सरकारले जवाफ दिनुपर्ने बताए।
उनले नेपालबाट पुँजी बाहिरिने वातावरण सिर्जना गर्ने वा विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रोत्साहन गर्ने भन्ने विषयमा सरकार प्रष्ट हुन नसकेको भन्दै अर्थमन्त्रीले आधारभूत आर्थिक विषयमा ध्यान दिनुपर्ने बताए।
‘यो बजेट ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ बराबरको घाटामा छ। सरकारसँग मेरो सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि विदेशी ऋणको भार नेपाली जनताको टाउकोमा थोपरेर अगाडि बढ्ने हो?’ भन्ने प्रश्न गरे।
उनले घाटा पूर्ति गर्न सरकारसँग स्रोत व्यवस्थापन स्पष्ट हुनुपर्ने बताउँदै उक्त रकम पुनः विदेशी ऋणमार्फत जुटाउने योजना रहेको हो भने त्यसले देशको ऋणभार बढाउने र अन्ततः त्यसको असर आम नेपाली नागरिकमाथि पर्ने बताए।
उनले वैदेशिक ऋणमा अत्यधिक निर्भरता घटाएर स्वदेशी लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनमा केन्द्रित आर्थिक नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे।
प्रकाशित: २८ जेष्ठ २०८३ १४:५८ बिहीबार



-600x400.jpg)

