२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

वार्ता के भयो ? रविले भने- मेरो अनुहारले के भन्छ ?

तस्बिर: विजय राई/नागरिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको दोस्रो पटक ‘वान टू वान’ भेटवार्ता सम्पन्न भएको छ।

बिहीबार मेयर शाहका सचिवालय सहयोगी कुमार बेनको निजी निवासमा करिब अढाइ घण्टा लामो छलफल भएको हो।

वार्ता सकेर बाहिरिने क्रममा सभापति लामिछानेलाई सञ्चारकर्मीले घेरेर ‘वार्ता के भयो ?’ भनी सोधेको प्रश्नमा लामिछानेले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’

सञ्चारकर्मीले ‘तपाईंको अनुहारमा त सधैँ चमक नै हुन्छ नि’ भनेपछि उनले मुस्कुराउँदै धन्यवाद दिए। प्रायः सञ्चारमाध्यममा खुलेर विचार राख्ने लामिछानेले आजको भेटमा भने शब्दभन्दा बढी संकेतमा कुरा गरे।

‘जनताले चाहेको परिणाम आउँछ त ?’ भन्ने अर्को प्रश्नमा उनले ‘त्यसको लागि अलिकति प्रतीक्षा गर्नुहोस्’ भन्ने जवाफ दिए।

सञ्चारकर्मीले ‘अब बालेनले लौरो टेक्ने कि घण्टी बजाउने ?’ भन्दै प्रश्न गर्दा रविले केही बताउँन चाहेनन्। ‘बाँकी कुरा समयले बताउला, तर वार्ता राम्रो भयो,’ लामिछानेले संक्षिप्त प्रतिक्रिया दिए।

काठमाडौंका मेयर बालेन शाहले र रास्वपा समापति रवि लामिछानेले पछिल्लो केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिए। उनहरुले बुधबारदेखि नै विभिन्न दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरूसँग भेटिरहेका छन्।

आजको भेटमा केही जेन-जी युवाहरूको पनि उपस्थिति रहेको थियो। रवि निस्किएलगत्तै ती युवाहरू पनि वार्तास्थलबाट बाहिरिएका थिए। यद्यपि उनीहरूले सञ्चारकर्मीसामु कुनै प्रतिक्रिया जनाएनन्।

प्रकाशित: १० पुस २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App