नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले हनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिने घोषणा गरेका छन्।
यस क्षेत्रका धेरै बासिन्दाबाट हनुमन्ते करिडोरमा जग्गा गएको गुनासो आएको बताउँदै उनले यस्तो घोषणा गरेका हुन्। प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता माझ पुग्न मध्यपुरथिमि क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रा कारणले हनुमन्ते करिडोर निर्माण कार्य रोकिएको होइन, यो क्षेत्रमा आएपछि राजनीति घुसेर विवादमा ल्याएका कारण नबनेको हो, सुस्ताएको हो, अब हामी आउँछौँ र यसलाई पूरा गर्छौँ। हनुमन्ते करिडोरमा जग्गा पर्नेहरूले चिन्ता गर्नु पर्दैन, प्रत्येकलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै यो आयोजना पूरा गर्छौँ।’
उनले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउने पक्ष बीचको प्रतिस्पर्धात्मक निर्वाचन भएको बताउँदै देश जलाउनेहरू अनेक नाटक गरेर मतदाता माझ आइरहेकाले त्यस्तालाई चिन्नु पर्ने जिकिर गरे।
उम्मेदवारसमेत रहेका एमाले सचिव महेश बस्नेतले भने, ‘मतदान गर्नु अगाडि देश जलाउनेलाई तपाईँहरूले चिन्नुपर्छ, सिक्किमीकरण गर्न चाहनेहरूलाई चिन्नुपर्छ, विदेशी मतियारहरूलाई चिन्नुपर्छ, यो देशलाई युक्रेन बनाउन खोज्नहरूलाई चिन्नुपर्छ, यो देशका जेलेस्की, लोन्डुप दोर्जेहरूलाई, लुसिफरहरूलाई चिन्नुपर्छ।’
एमालेले देशको अहित नगर्ने बताउँदै उनले भने, ‘एमालेले देशको राष्ट्रियता जोगाउँछ, एमालेले देशको सार्वभौमसत्ता जोगाउँछ, एमालेले नाकाबन्दी लगायो भने खुलाउँछ, एमालेले सिमाना जोगाउँछ, चुच्चे नक्सा ल्याउछ, एमालेले हिन्द महासागरबाट व्यापार गर्न चाईनासँग सन्धी सम्झौता गरेर प्रशान्त महासागरसम्म पुर्याउँछ। एमालेले लोकतन्त्र बलियो बनाउँछ, सविधानबाद बलियो बनाउँछ, प्रेस स्वतन्त्रता बलियो बनाउँछ, सम्बृद्धि, विकास दिन्छ, रोजगारी दिन्छ, त्यसैले एमालेलाई स्वदेशदेखि विदेशसम्मले घेराबन्दीमा पारेका छन्।'
प्रकाशित: १० फाल्गुन २०८२ १५:१० आइतबार





