नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू हतियार छाडेर मतपत्रमार्फत नयाँ समाजवादी अभियान चलाउने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्।
शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।
दाहालले जनताको मतको तागतबाटै सिंहदरबारको नेतृत्व गर्ने दाबी गरे। उनले भने, ‘हामीले हतियार लिएर मैदानमा उत्रेका छैनौं। हामीले मतपत्र लिएर, तपाईंहरूको मतपत्रको तागतमा सिंहदरबारमा गएर फेरि एकचोटी नयाँ समाजवादी अभियान चलाउने सङ्कल्प लिएर तपाईंहरूको साथमा आएका छौँ।’
चुनावी सभालाई सम्बोधन गर्दै दाहालले रोल्पाबाट उम्मेदवार रहेका पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन रोल्पाली जनतालाई अपिल गरे।
‘कमरेड वर्षमान पुनलाई रेकर्ड बन्ने गरी अत्यधिक बहुमतद्वारा रोल्पाले एकचोटी फेरि नयाँ रेकर्ड बनायो भन्ने गरी तारा चुनाव चिन्हमा मतदान दिएर विजयी गराएर पठाउनुहोस्,’ उनले भने, ‘वर्षमानलाई के गर्नुपर्छ, मेरो जिम्मा छोड्दिए हुन्छ।’
नेता पुनले विगतमा अर्थमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र राष्ट्र तथा जनताको निम्ति समाजवादको नयाँ यात्रा आरम्भ गर्न गम्भीर भएर काम गर्नुपर्ने जिम्मेवारी रहेको दाहालले सुनाए।
दाहालले जनयुद्धका सहिद, बेपत्ता योद्धा, घाइते, अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारजनलाई स्मरण गर्दै साँचो अर्थमा समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ आफूहरू अघि बढेको बताए।
उनले रोल्पा, रुकुम, जाजरकोट, सल्यान लगायतका क्रान्तिका आधार इलाका र देशभरका ७७ वटै जिल्लाका नेता कार्यकर्तालाई यो अभियानमा जोडिन आह्वान गरे।
प्रकाशित: १६ फाल्गुन २०८२ १८:१८ शनिबार





