प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार सम्पन्न भएको मतदानको मतगणनाको प्रारम्भिक नतिजा अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले आफ्नो अग्रता कायमै राखेका छन्। शुक्रबार बेलुका ८ बजेसम्मको नयाँ मत परिणाम अनुसार उनीहरू अगाडि देखिएका छन्।
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले १४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले ४ हजार २ सय २९ मत सहित पछ्याइरहेका छन्। त्यसै गरी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले ३ हजार ४ सय ५१ मत प्राप्त गरेका छन्।
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार चन्दन कुमार सिंह ३ हजार ८ सय २२ मत सहित अग्रतामा छन्। सिंहलाई जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले २ हजार ३ सय १२ मत सहित पछ्याइरहेका छन्। नेकपा एमालेका बलबीर चौधरीले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साह २० हजार २ मत प्राप्त गरेर विजय नजिक पुगेका छन्। साहलाई नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले ५ हजार ३ सय ४७ मतले पछ्याइरहेका छन्। जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ३ हजार २ सय ४४ मत प्राप्त गरेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले १५ हजार ४ सय ५४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ताले २ हजार ७ सय ३६ मत मात्रै प्राप्त गरेका छन् भने नेकपा एमालेका किसान श्रेष्ठले ३ हजार ७ सय ३६ मत पाएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ २१:०० शुक्रबार

