२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रचण्ड भन्छन्- विचार र वर्ग संघर्ष भुलेर बिग्रियौं, मुख्य जिम्मा म लिन्छु

प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वर्ग संघर्ष र विचार भुल्ने गल्ती भएको स्वीकार गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिने बताएका छन्।

साथै, वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै मास्ने बाटोमा हिँडेको भन्दै उनले आन्दोलनका लागि जुर्मुराउन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक दाहालले विगतका भूलबाट शिक्षा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए।

‘हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्‍यौं, दिनदिनको कार्यनीतिमा रमायौं र बिग्रियौं,’ उनले भने, ‘तीन चोटी प्रधानमन्त्री म आफैँ भइसकेकाले यसको मुख्य जिम्मेवारी मैले नै लिनुपर्छ, अरूलाई भनेर सुख पाउँदिनँ।’

आन्तरिक कमजोरी सच्याउँदै वर्तमान सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बेला आएको उनको भनाइ छ। यो सरकार सुशासन र विकासको पक्षमा नरहेको भन्दै उनले महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्ने दिशामा सरकार अघि बढेको आरोप लगाए।

‘संविधान मास्ने दिशातिर सरकार अगाडि बढ्दैछ,’ उनले भने, ‘खबरदार ! तपाईं–हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ।’

सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी र ट्रेड युनियनका अधिकार खोस्ने तथा देशको सिमानाका विषयमा जथाभावी बोल्ने काम गरिरहेको उनले बताए। सरकार गलत बाटोमा गएका कारण आफूले सदनमा आवाज उठाएको स्मरण गराउँदै संयोजक दाहालले आगामी दिनमा संसदमा बोल्नका लागि सरकारबारे थुप्रै विषयवस्तु तयार भएको चेतावनीसमेत दिएका छन्।

प्रकाशित: २१ असार २०८३ १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App