राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आफ्नो पार्टीसँग देश बनाउने इमानदारिता र क्षमता दुवै रहेको बताएका छन्।
सोमबार सोलुखुम्बुका मतदातालाई सम्बोधन गर्दै उपसभापति अर्यालले फागुन २१ गतेको निर्वाचन देशका लागि निर्णायक हुने बताए।
अर्यालले भने, ‘हामीसँग इमानदारिता छ, लगनशीलता छ र क्षमता पनि छ। यी तीन कुराले गर्दा हामी देशलाई समृद्धितर्फ लान सक्छौं र सुशासन कायम गर्न सक्छौं।’
उनले विगतका पुस्ता र नेतृत्वको कमी कमजोरीका कारण देशले दुःख पाएको सुनाउँदै अबको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने दाबी गरे।
‘यदि हामीले देशमा सुशासन कायम गर्न सकेको भए, भ्रष्टाचार नभएको भए र शिक्षा, स्वास्थ्य जस्ता मौलिक हक कार्यान्वयन भएको भए हाम्रा छोराछोरी सडकमा आउनुपर्ने वा विदेशिनुपर्ने थिएन,’ अर्यालले भने।
उपसभापति अर्यालले कर तिर्न जाँदा घुस खुवाउनुपर्ने, अस्पतालमा उपचार गराउन वा स्कुलमा भर्ना गर्न ठूला मान्छे वा नेता चिन्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गरे।
उनले मालपोत कार्यालयमा लुकी लुकी कोठामा जानुपर्ने दिनको अन्त्य गर्नुपर्नेमा जोड दिए।
देशमा रोजगारी सिर्जना गर्न र मेरो देशमा मेरा लागि सरकार छ भन्ने अनुभूति दिलाउनका लागि पनि आसन्न निर्वाचनमा रास्वपाले जित्न आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित: २६ माघ २०८२ १९:०० सोमबार




