नेपाली कांग्रेसका नेता विनोद चौधरीले पछिल्लो समय उठेको जेन-जीको आन्दोलनले राजनीतिक दल र नेतृत्वलाई ऐना देखाएको टिप्पणी गरेका छन्।
आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले विगत ३५ वर्षको राजनीतिक अभ्यासमा दल र नेतृत्वले बाटो बिराएको सत्यलाई जेन-जी आन्दोलनले उजागर गरेको बताए।
‘जेन-जी मुभमेन्टको क्रममा देखिएको पवित्र मानसिकताले एउटा ठूलो कुरा के सिकायो भने, हामीले यो ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं,’ सम्बोधनका क्रममा चौधरीले भने, ‘हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सिर्जना गर्न सकेनौँ, जहाँ सृजनशील, योग्य र ट्यालेन्ट भएका व्यक्तिहरूलाई सबै किसिमका ढोका खोलेर भित्र्याउन सकियोस्।’
उनले करिब करोड नेपाली रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता, हरेक घर-परिवारमा छाएको पीडा र उद्योग व्यवसायमा देखिएको विसंगतिले ३५ वर्षको दौरानमा बाटो बिराएको पुष्टि गर्ने बताए।
२०४८ सालमा कांग्रेसले गरेको आर्थिक रूपान्तरणले देशलाई यहाँसम्म ल्याए पनि त्यसपछिको राजनीतिक अस्थिरता र ‘काखा-पाखा’ को प्रवृत्तिले युवा पुस्तामा वितृष्णा जगाएको उनको भनाइ थियो।
नेता चौधरीले अबको कांग्रेसले जेन-जीले बोकेको भावना र विदेशमा रहेका नेपालीले देखेको आर्थिक क्रान्तिको सपनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘जेन-जीको सपनालाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई उभ्याउनुपर्छ।’
प्रकाशित: २७ पुस २०८२ १६:५४ आइतबार





