२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

हामी माननीय होइनौं, सेवक हौं: ऊर्जामन्त्री घिसिङ

अन्तरिम सरकारका नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आफूहरू माननीय नभई जनताको सेवकको रूपमा काम गर्न आएको बताएका छन्।

उनले जेन-जी आन्दोलनले निम्त्याएको विनाशलाई पुनर्निर्माणमा बदल्ने र शहीदहरूको सपना साकार पार्ने आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्री घिसिङ सिधै सिंहदरबार नगई त्रिवि शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ उनले आन्दोलनमा ज्यान गुमाएकाका परिवारजनलाई भेटेर समवेदना प्रकट गरे। त्यसपछि मात्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले आफ्नो प्राथमिकता र योजना सार्वजनिक गरेका हुन्।

‘आज म गौरव अनुभव गर्न नभई, गौरव निर्माणको अभिभारा बोकेर तपाईंहरूसामु उभिएको छु,’ मन्त्री घिसिङले भने, ‘जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने; जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने र शहीदको सपना साकार पार्ने मेरो उद्देश्य हो।’

उनले मन्त्रीहरूलाई ‘माननीय’ भन्ने शब्द प्रयोग नगर्न आग्रह गर्दै आफूहरू सेवा गर्न आएको बताए। ‘हामी माननीय होइनौं, यहाँ सेवा गर्न आएका हौं। माननीय भन्ने शब्द कसैले नभनिदिनुहोला,’ उनले भने ‘मन्त्रीज्यू भनेपछि भैहाल्यो।’

मन्त्री घिसिङले आन्दोलनमा ज्यान गुमाएका युवाहरू देशको उज्ज्वल भविष्य भएको उल्लेख गर्दै उनीहरूको बलिदानले परिवर्तनको जग बसाल्ने सुनाए। ‘पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौं। उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए,’ उनले भने।

उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

मन्त्री घिसिङले यो जिम्मेवारी पीडा र आशाको बीचबाट आएको ठूलो जिम्मेवारी भएको बताउँदै हिंसालाई त्यागेर अब पुनर्निर्माण र समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए।

‘हिंसा होइन, समाधान हाम्रो बाटो हो अब,’ उनले भने, ’अब हामी पुनर्निर्माणतिर लाग्नुपर्छ, देशलाई समृद्धितिर अगाडि बढाउनुपर्छ।’

प्रकाशित: ३० भाद्र २०८२ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App