राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले निजी क्षेत्रलाई तत्काल नयाँ स्टक एक्सचेन्ज खोल्न दिनु जनतालाई ठग्ने अर्को तरिका मात्रै हुने बताएका छन्।
अर्थ समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै राप्रपा प्रवक्ता पनि रहेका शाहीले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र बरु हाल सञ्चालनमा रहेको धितोपत्र बोर्ड (सेबोन) को गुणस्तर र कार्यक्षमतामा वृद्धि गर्नुपर्ने सुझाएका हुन् ।
शाहीले आफ्नो भनाइमा हालको धितोपत्र बजारमा देखिएका समस्या र विकृतिलाई औँल्याउँदै जबसम्म विद्यमान नियामक निकाय र बजार संरचनालाई बलियो बनाइँदैन, तबसम्म नयाँ स्टक एक्सचेन्ज ल्याउनुको कुनै औचित्य नहुने बताए । यसो गर्दा सीमित व्यक्ति वा समूहको स्वार्थ पूर्ति हुने र सर्वसाधारण लगानीकर्ता थप जोखिममा पर्ने उनको भनाइ थियो ।
प्रमुख सचेतक शाहीले पुँजी बजारमा देखिएको अपारदर्शिता, बजार चलखेल र प्रभावकारी नियमनको अभावलाई नयाँ स्टक एक्सचेन्ज खोल्नुअघि समाधान गरिनुपर्ने र अनियमितताका घटना कम गर्न नियामक निकायको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: २६ असार २०८२ १४:५३ बिहीबार





