मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, मुनाल झोडाबाट प्रहरीले भरुवा बन्दुक र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब १० बजे स्थानीय ५६ वर्षीय बलबहादुर राईलाई उनकै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा भान्सा कोठाको माथिल्लो भागमा लुकाइराखिएको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको थियो।
त्यसैगरी, घरनजिकै रहेको ग्वालीबाट १.५ किलोग्राम गाँजा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐन र लागुऔषध सम्बन्धी ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ श्रावण २०८३ १८:३४ बिहीबार





