सिरहा–४ का रामनारायण साह अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका पाँचैजना पूर्वमन्त्री आफ्ना लागि नयाँ नभएको बताउँछन्। प्रत्येक निर्वाचनमा प्रतिबद्धता र आशा बोकेर आउने त्यस्ता धेरै नेताहरू उनले बेहोरेका छन्। उनीहरूलाई जिताउन साहले भूमिका पनि खेलेका छन्। साहले जीवनमा कति पटक मत खसाले, हिसाब गरेका छैनन् तर कसलाई भोट हालें भन्नेचाहिँ एकएक सम्झना छ। नयाँ नारासहित आउने उम्मेदवार देख्दा उनमा ‘अब त केही हुन्छ’ भन्ने आशा पलाउँछ तर जितेर गएका उम्मेदवार अर्को चुनावसम्म फर्केर नआउँदा त्यो आशा मर्छ। उनले विगतमा यस्तै भोग्दै आएका छन् अब के हुन्छ समयले बताउँला।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दल बदलेर आएका उनै पुराना अनुहारप्रति उनलाई खासै चासो छैन। चुनावमा दुःख बुझ्न आउने र जितेर गएपछि फर्केर नहेर्ने उम्मेदवारले आफ्नो जीवन र परिवारको अवस्थामा कुनै परिवर्तन नल्याउने उनको बुझाइ छ। ‘भोट खसाउँदै बुढो भइयो। चुनावमा मत माग्न आएका नेता फेरि अर्को चुनावमा मात्रै भेटिन्छन्,’ सिरहा–४ अन्तर्गत कल्याणपुर बजारको चौतारामा भेटिएका साहले सुनाए, ‘चुनाव आउँछ, जान्छ। सबैले आफ्नै लागि गर्छन्, हामी निमुखा जनताका लागि कोही छैनन्।’
कर्जन्हा गाउँको प्रवेशद्वारको पश्चिमपट्टि करिब १० घरपरिवार मलिक (डोम) को बस्ती छ। धुलाम्मे सडकको छेउमा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन। सँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन। ऐलानी जमिनमा बनाइएको छाप्राको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएकाहरूको यो बस्तीमा एकातिर गरिबी छ भने अर्कातिर त्यसमाथि शिक्षा र चेतनाको अभाव। अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ।
अहिले चुनावी चहलपहल बढेको छ। ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ?’ भनेर जिज्ञासा राख्दा बस्तीकी पानोदेवी मलिक एकछिन चुप लागिन्। एकछिन घोरिएपछि उनले भनिन्, ‘केको चुनाव लाग्नु? चुनाव त धनीहरूलाई पो लाग्छ। हामी गरिब र कमजोर मतदातालाई नेताहरू भरोसा मात्र बाँड्छन्। ऐलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस पनि हुन्न। अगाडिको चुनावमा पनि नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका थिए तर अझै पर्केका छैनन्।’
जीवन उकासिएला भन्ने भरोसामा भोट हालेकी उनले नेता जितेर नेता मन्त्री भए पनि गरिबको सास्ती उस्तै रहेको सुनाइन्। ‘छोरा रोजगारी नपाएर भौंतारिइरहेको छ। हामी बाँसका सामग्री बेचेर जेनतेन परिवार धानिरहेका छौं,’ उनले भनिन्, ‘दुःखका बेला अभिभावक खोज्दा कोही भेटिन्नन्।’
मधेसी दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोबास गर्ने बस्तीमा अधिकतर परिवारका सदस्यका नाममा जग्गा छैन। ‘घर पनि ऐलानी जग्गामै छ,’ मलिक भन्छिन्, ‘हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौं तर हामीसँग जग्गाको कुनै प्रमाणपुर्जा छैन। प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौं भन्छन् तर हाम्रो जीवनस्तर फेर्ने गरी कहिल्यै उनीहरूले काम गरेनन्।’
नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको सोही समुदायकी इन्नैरदेवी मलिकले बताइन्। ‘चुनावका बेला गाउँ आएका नेता ठुल्ठुला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन्,’ उनले भनिन्, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै छ।’
चुनावमा यो समुदाय भोट खसाल्ने मेसिनका रूपमा प्रयोग हुँदै आएको स्थानीय जयप्रकाश ठाकुरले बताए। ‘चुनावका बेला प्रयोग गरेर नेताहरूले बेहाल छाडिदिने गरेका छन्,’ उनले भने।
चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ। उनका अनुसार कतिपयले त चुनावलाई व्यपार नै बनाइसकेका छन्। ‘एउटा दलबाट टिकट नपाए दल बदलेर पनि चुनाव लड्न आउँछन्। जनतालाई लोभ्याएर भोट लिन पल्केकाहरूको यसपालि चल्नेवाला छैन्,’ ठाकुरले भने, ‘यसपालि लोभले होइन, मनोविज्ञानले मत खस्नेछ।’
कसले के गरे/गरेनन्, सबै हिसाब मतदाताले भोटमार्फत अभिव्यक्त गर्ने उनको भनाइ छ।
प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा–४ को चुनावी माहोल तातिएको छ। सिरहा–४ मा पाँच पूर्वमन्त्रीसहित दल र स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा छन्। यी उम्मेदवार गाउँगाउँ पुगिरहेका छन्। पुरानाहरू आफ्ना कमजोरी सच्याएर आउने र आफ्ना वाचा पूरा गर्ने विश्वास दिलाउन व्यस्त देखिन्छन्। नयाँहरू पुरानाले गरेनन्, त्यसैले हामीलाई मौका दिनुस् भनिरहेका छन्। यस क्षेत्रमा आधा दर्जन प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। पाँच पूर्वमन्त्री नै एक–अर्काविरुद्ध चुनावी मैदानमा होमिएपछि यहाँको नतिजा कसको पोल्टामा पर्ला भन्ने अनुमान लगाउन राजनीतिक विश्लेषकहरूलाई समेत कठिन भइरहेको छ। मधेसको राजनीतिमा सधैं चर्चामा रहने सिरहाको यस क्षेत्रमा पुराना र अनुभवी नेताहरूसँगै उदाउँदो नयाँ शक्तिको आगमनले चुनावी अंकगणितलाई थप रोमाञ्चक बनाएको छ।
परम्परागत दलका प्रभावशाली नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ उम्मेदवारहरूले चुनौती दिँदा यो क्षेत्रको भिडन्त अब सामान्य हारजितभन्दा माथि उठेर ‘प्रतिष्ठाको लडाइँ’ मा परिणत हुने देखिन्छ। जसपा नेपालबाट पूर्वमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिएका छन् भने पूर्वमन्त्री अजयशंकर नायक पनि नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिस्पर्धामा छन्।
विगतमा यसै क्षेत्रबाट निर्वाचित नायक आफ्नो पुरानो साख जोगाउने कसरतमा जुटेका छन्। यसपटकको चुनावमा २०७९ को निर्वाचनमा जसपाबाट जितेका महतो यसपटक दल बदलेर जनमत पार्टीबाट चुनावी मैदानमा होमिएका छन्। यता पूर्वमन्त्री धर्मनाथ साह नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि उनले ‘दल बदल’को राजनीति गर्दै नेकपा एमालेको टिकट हत्याउन सफल भएका छन्।
एमालेको बलियो संगठन र आफ्नो व्यक्तिगत प्रभावका आधारमा उनी चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्रिय छन्। यसैगरी बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री वीसेन्द्र पासवान पनि यही क्षेत्रबाट उम्मेदवारी दिँदै चुनावी दौडमा सामेल भएका छन्। उनी दलित तथा सीमान्तकृतको मत आफ्नो पक्षमा पार्ने कसरतमा छन्।
यी प्रभावशाली उम्मेदवारहरूका बिचमा नेपाली कांग्रेसले भने महिला उम्मेदवारलाई अघि सारेको छ। कांग्रेसले चन्द्रकला देवी यादवलाई टिकट दिएर चुनावी मैदानमा उतारेको छ। पुराना दल र नेताहरूप्रति बढेको वितृष्णा क्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तपेश्वर यादव चुनावी मैदानमा छन्। बालेन शाह र देशव्यापी रूपमा रास्वपाको घण्टी लहर चलेको सन्दर्भमा सिरहा–४ मा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिने स्थानीय रामनारायण साहले बताए।
तपेश्वर यादवले ‘बालेन्द्र फ्याक्टर’ र नयाँ राजनीतिक तरंगहरूलाई आधार बनाएर दिग्गज पूर्वमन्त्रीहरूलाई चुनौती दिइरहेका छन्। भौगोलिक र जनसांख्यिक हिसाबले पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ। यस क्षेत्रमा कर्जन्हा र मिर्चैया गरी दुई नगरपालिका पूर्ण रूपमा पर्छन् भने नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका ६ वटा वडा पनि यसै क्षेत्रभित्र समेटिएका छन्।
निर्वाचन कार्यालयको तथ्यांकअनुसार यस क्षेत्रमा एक लाख ६ हजार ६८६ मतदाता छन्, जसमा पुरुष मतदाताको संख्या ५६ हजार ७१७ छ भने महिला मतदाता ४९ हजार ९६९ छन्। मतदानका लागि १२९ मतदान केन्द्र निर्धारण गरिएको छ। विगतको चुनावी इतिहासलाई फर्केर हेर्दा यहाँका मतदाताले कुनै एक दल वा व्यक्तिलाई मात्र निरन्तरता दिएको पाइँदैन। प्रजातन्त्र पुनस्र्थापनापछिको २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवार राजदेव गोइत ११ हजार ९१९ मत ल्याएर निर्वाचित भएका थिए भने संयुक्त जनमोर्चाका रामकुमार यादवले आठ हजार ८७२ मत ल्याएका थिए।
२०५१ सालको आम निर्वाचनमा उनै राजदेव गोइत नेपाली कांग्रेसबाट उम्मेदवार बन्दै ११ हजार ८२९ मतका साथ पुनः विजयी भए। त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वेश्वर मरबैताले ११ हजार ४६२, सद्भावनाका हेमनारायण यादवले आठ हजार ८१० र नेपाल जनवादी मोर्चाका रामराजा प्रसाद सिंहले चार हजार ९२८ मत ल्याएका थिए। २०५६ सालको निर्वाचनमा भने नेकपा एमालेका हेमनारायण यादव १९ हजार २३५ मत ल्याएर भारी मतका साथ निर्वाचित हुँदा कांग्रेसका चन्द्रनारायण यादव १६ हजार ८६६ मतमा सीमित भए भने राप्रपाका राजदेव मरबैताले ११ हजार ९२३ मत ल्याएका थिए।
मधेस आन्दोलनको रापतापपछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरमका शत्रुधन सिंह कोइरी ११ हजार ७७९ मतसहित उदाएका थिए। सो निर्वाचनमा एमालेका रामऔतार यादवले आठ हजार ५४२ र जनमोर्चा नेपालका रामरिझन यादवले पाँच हजार ६२१ मत प्राप्त गरेका थिए।
२०७० सालको दोस्रो संविधानसभामा भने नेपाली कांग्रेसले पुनरागमन गर्दै रामचन्द्र यादवलाई आठ हजार ८०५ मतका साथ विजय गरायो भने एमालेका रामऔतार यादव आठ हजार ५६० मतमा रोकिए। २०७२ सालको नाकाबन्दीसहितको मधेस आन्दोलनपछि भएको २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव २१ हजार १४४ मत ल्याएर निर्वाचित भए। माओवादीका अजयशंकर नायकले १७ हजार ५७५ मत र कांग्रेसका मुख्तार अहमतले १० हजार ८८ मत ल्याएका थिए। पछिल्लो पटक २०७९ को निर्वाचनमा जसपा नेपालबाट डाक्टर वीरेन्द्रप्रसाद महतो २४ हजार १०२ मत ल्याएर फराकिलो अन्तरले निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए भने नेकपा एकीकृत समाजवादीबाट लडेका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत पाएका थिए। सो समयमा रास्वपाका विमलकुमार तिवारीले एक हजार ६ सय ८३ मत मात्र ल्याएका थिए। स्थानीय तहको निर्वाचन परिणामले पनि यस क्षेत्रमा दलहरूको मिश्रित अवस्था देखाउँछ।
कर्जन्हा नगरपालिकामा एमालेका भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मत ल्याएर मेयर निर्वाचित भएका छन् भने जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र तत्कालीन नेकपा माओवादी केन्द्रकी गंगा पासवाले दुई हजार ४८२ मत ल्याएका थिए। यस्तै मिर्चैया नगरपालिकामा माओवादीबाट श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर मेयर निर्वाचित भएका थिए। त्यहाँ कांग्रेसका सीताराम यादवले चार हजार सात सय १० मत र एमालेबाट प्रदीप महासेठले तीन हजार ७०४ मत ल्याएका थिए।
यस क्षेत्रमा पर्ने नरहा गाउँपालिका–३ मा एमाले, ४ मा जसपा नेपाल र ५ मा माओवादीबाट अध्यक्ष निर्वाचित भएका छन् भने विष्णुपुर गाउँपालिका–२ मा जसपा नेपाल, ३ मा कांग्रेस र ४ मा कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन्। स्थानीय तहको यो मत विभाजनले संसदीय निर्वाचनमा कुनै पनि दलको एकल पकड नरहेको स्पष्ट पार्छ। एमालेको संगठन लिएर आएका पूर्वमन्त्री धर्मनाथ साह, कमजोर संगठनको जगमा चुनावी मैदानमा उत्रीका पूर्वमन्त्री डा. वीरेन्द्र व्यक्तिगत र व्यवसायीक प्रतिष्ठाको बलमा साख जोगाउने कसरतमा छ। जसपाले मधेस आन्दोलनबाट प्राप्त उपलब्धि र संगठनको बलमा साख जोगाउन लागिपरेका राजकिशोर चुनावी भिडन्तमा उत्रिएका छन्।
त्यसमाथि माओवादीका अजयशंकर नायक र कांग्रेसकी चन्द्रकला यादवको उपस्थिति पनि कमजोर छैन। तर यी सबै समीकरणलाई भत्काउन सक्ने ‘डार्क हर्स’का रूपमा रास्वपाका तपेश्वर यादवलाई हेरिएको छ।
प्रभावशाली उम्मेदवारहरूलाई टक्कर दिइरहेको ‘बालेन्द्र फ्याक्टर’ले यहाँको चुनावी रङलाई तरंगित बनाइदिएको छ। तपेश्वर यादवले बालेन्द्रको लहरलाई हावा दिएर दिग्गज उम्मेदवारहरुलाई टक्कर दिइरहेको स्थानीय बताउँछन्। पछिल्लो समय जनमतका केन्द्रीय र जिल्ला तहका नेताको रास्वप प्रवेशको लहरलाई संगठिन बनाइरहेको स्थानीय बताउँछन्। फागुन २१ गते हुने मतदानले नै यो रोचक भिडन्तको अन्तिम फैसला गर्नेछ।
प्रकाशित: २४ माघ २०८२ ०६:२२ शनिबार





