नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनको घोषणा पत्रमा ‘भिजन–१०’ को अवधारणा समेट्ने जनाएको छ। १० वटा भिजन समेटिएको घोषणापत्र छिट्टै ल्याउन लागेको पनि कांग्रेसले जनाएको छ।
शनिवार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्य योजनालाई केन्द्रमा राख्ने जानकारी दिए ।
‘कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित रहने छैन। त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ,’ प्रवक्ता चालिसेले भने, ‘घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समेटिन्छ।’
हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले देशभरका जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै चालिसेले बताए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाई छ। ‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ उनले भने । घोषणापत्रले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्ने पनि उनले बताए।
प्रवक्ता चालिसेले घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकसाथ सम्बोधन गर्दै जनतासामु विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने दाबी गरे। पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ।
प्रकाशित: १७ माघ २०८२ १७:०५ शनिबार





