नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेको कामको सम्बन्धमा १८ बुँदे आत्मालोचना गरेका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो आत्मालोचना गरेका हुन्।
महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने जेनजी आन्दोलनकारीले आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मा लिनुपर्ने बताएका छन्। काठमाडौंमा जारी कांग्रेस विशेष महाधिवेशनमा सोमबार सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै जेनजी प्रदर्शनकारीले पनि आफ्नो प्रदर्शनको आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम बिस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको थियो। इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति थियो। आजको मितिमा जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो।’
प्रतिवेदनमा भदौ २३ र २४ गतेका घटनालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि दोहोर्याउँ–जेनजी कहीँ अन्तरिक्षबाट आएका थिएनन्, उनीहरू हाम्रै काखमा हुर्किएका, हाम्रै परिवारका सदस्य थिए। लोकतान्त्रिक प्रणालीका विरुद्ध होइन, प्रणालीभित्रको खराबीका विरुद्ध थिए। सुशासनका पक्षमा थिए। निराशाविरुद्ध नवीन आशाको खोजीमा थिए।’
उनले राज्यबाट दूरदर्शिता नदेखिँदा कयौंले जीवन गुमाएको र मुलुकले ध्वंस भोग्नुपरेको उल्लेख गरेका छन्।















प्रकाशित: २८ पुस २०८२ १३:१० सोमबार





