समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन्।
सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन्।’
वन विनाश, चुरे उत्खनन तथा पहाडका बासिन्दालाई मधेशमा भू-माफियाहरूलाई अवैध बसोबास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरेका छन्।
सरकारको गलत नीतिका कारण मधेश मरुभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै संकटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन्। पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जसपा अध्यक्ष यादवले भने, ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फँडानी गरी बसोबास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुनेछ।’
जनसंख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने, ‘४० प्रतिशत जनसंख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठुलो विभेद के हुन सक्छ।’ जबरजस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दाबी गरे।
संसद खरिद बिक्री, योजना बिक्री तथा कमिसनको खेल हुने गरेको चर्चा गर्दै संविधान संशोधन वा पुनर्लेखन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरू राख्नुपर्नेमा उनले जोड दिए। प्रदेशलाई अझै पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने, ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरूलाई अधिकारविहीन बनाइएको छ।’
पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादीका केन्द्रीय सदस्य सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष दीपेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर साह, समाजवादी लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेशका प्रवक्ता मनोज कुमार मण्डल, जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष श्रवण कुमार देव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। सोही कार्यक्रममा मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको छ।
पार्टीको जिल्ला अधिवेशन साउन १४, १५ र १६ गते गरी तीन दिनसम्म चल्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन्। अध्यक्ष पदका लागि हालका अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश प्रसाद यादव र हरेराम यादव चर्चामा छन्।
प्रकाशित: १४ श्रावण २०८२ २०:१२ बुधबार





