३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसभित्र एकता आवश्यक: निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसका देउवा पक्षले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापतिसमेत रहेका नेता निधिले कांग्रेसमा पक्ष विपक्षबीच एकता हुन आवश्यक रहेकोमा जोड दिए । उनले १५ औं महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र सो अधिवेशनमा भाग नलिएकाहरुबीच एकता हुनुपर्ने उल्लेख गरे । पार्टी भित्र गुट उपगुट, पक्ष बिपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुबै पक्ष मिलेर जानुपर्नेमा नेता निधिले जोड दिए ।

नेता निधिले महाधिवेशनका निम्ति क्रियाशिल सदस्यता आवश्यक भएतापनि एकतर्फी रुपमा नामावली तयार गर्नु अनुचित रहेको धारणा राखे । उनले विगतमा क्रियाशिल सदस्यताको नामावली तयार भइसकेकोले सोही नामावलीलाई नै मान्यता दिनुपर्ने बताए । क्रियाशिल सदस्यता नविकरणको नाममा अहिले पार्टीका एक पक्षले धाँधली गर्ने दुराशयका साथ अद्य्यावधिक गर्दै हिँडेको गुनासो गरे ।

१५ औं महाधिवेशन सफल पार्नका निम्ति नेता निधिले १४ औं महाधिवेशन र विशेष महाधिवेशनका केन्द्रिय समितिलाई एक बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले क्रियाशिल सदस्यता छानबीन समिति, निर्वाचन समिति र अनुशासन समिति सहमतीको आधारमा गठन गरेर महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने प्रस्ताव राखे ।  

नेता निधिले भातृसंगठन, सुभेच्छुक संगठनहरुलाई पुनः गठन गर्नुपर्नेमा जोड दिए । उनले अनावश्यक प्रतिशिधका साथ पार्टी संचालन गर्न नखोज्न नेपाली कांग्रेसको गगन पक्षलाई चेतावनी दिए । राजनीतिक रुपमा कांग्रेसभित्र एकताको आवश्यक रहेको भन्दै नेता निधिले सहमतीमै महाधिवेशन सम्पन्न गर्नु नै एक मात्र विकल्प रहेको बताए ।

प्रकाशित: ३० जेष्ठ २०८३ १९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App