खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षभरि उत्कृट काम गर्ने ३ जना कर्मचारी तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिकाले शनिबार आयोजित एक कार्यक्रमका बीच कर्मचारी तथा विद्यार्थीलाई पुरस्कार प्रदान गरेको हो।
वर्षभरि राम्रो काम गर्ने ३ जना कर्मचारीलाई गाउँपालिकाले ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको हो भने विद्यालय शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीलाई पुरस्कार दिएको हो।
पुरस्कृत हुने कर्मचारीहरूमा पुरुषतर्फ गाउँपालिका कार्यालय चिसापानीमा कार्यरत अधिकृतस्तर छैठौँ भीम मगर तथा महिलातर्फ २ नं. वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई रहेका छन्। उनीहरूसँगै गाउँपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत भएका हुन्।
पुरस्कृत सबै कर्मचारीलाई जनही नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरियो। शनिबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाइँले पुरस्कृतहरूलाई नगद तथा प्रमाणपत्र वितरण गरे।
सो अवसरमा गाउँपालिकाभरिका विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण छात्रछात्रालाई पनि पुरस्कार दिइयो। गतवर्षको एसईईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिँहदेवी माध्यमिक विद्यालय बोपुङकी दीपशिखा राई र ३.३२ जिपिए ल्याउने सोही विद्यालयका सुनिल कटुवाललाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरियो।
त्यसैगरि जिल्लास्तरीय परीक्षा (डिएलई)मा उत्कृष्ट अङ्क ल्याउने ३ विद्यार्थीहरू क्रमशः ३.६२ जिपिए ल्याउने सिंहदेवी मावि बोपुङकी गृष्मा राई र ३.६ जिपिए ल्याउने सोही विद्यालयका अविनाश राई तथा अविनाशकै समान ३.६ जिपिए ल्याएर उत्तीर्ण गर्ने चिसापानी नमूना माध्यमिक विद्यालयका संयोग पोखरेललाई जनही १० हजार नगदका साथ प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिदै आएको बताइन्। कर्मचारीहरूलाई गुण र दोषका आधारमा पुरस्कृत तथा नसिहत दिने व्यवस्थाले सुशासन र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ थियो। अध्यक्ष राईले विद्यार्थीहरूको शैक्षिकस्तर उकासेर गाउँपालिकाकोशिक्षामा गुणस्तर बृद्धि गर्न विद्यार्थीलाई प्रोत्साहन पुरस्कार दिने गरेको स्मरण गराइन्।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ–आफ्नो शाखाबाट कार्यसम्पादन भएका प्रगति विवरण प्रस्तुत गरेका थिए भने हालसम्मको बजेट खर्चको फाँटवारी सार्वजनिक गरेका थिए। प्रस्तुत प्रगति विवरण अनुसार चालु आर्थिक वर्ष सुरु भएको १० महिनामागाउँपालिकाको समग्र भौतिक प्रगति ७५ प्रतिशत भएको छ भने आर्थिक प्रगति ६४ प्रतिशत भएको देखाइएको छ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले जन्तेढुंगा गाउँपालिकाको सेवाप्रवाह सन्तोषजनक रहेको भन्दै सन्तोष व्यक्त गरेका थिए। २ नं. वडा बोपुङका पूर्ववडाध्यक्ष गणेश विष्ट र ६ नं. दिप्लुङस्थित निगालावासमा सञ्चालित पुमा सामुदायिक होमस्टे (घरवास) सचिव दीपक राईले गाउँपालिकाको सेवाप्रवाह सन्तोषजनक भएको भन्दै तर, यसलाई थप परिस्कृत बनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गरेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रम सहजीकरण सँस्था भ्यूज अफ नेपाल मिडिया प्रालिले गाउँपालिकाको ६ वटै वडामा पुगेर स्थलगत अध्ययन गर्दै तयार गरेको नागरिक सर्वेक्षण प्रतिबेदन अनुसारको विवरण प्रस्तुत गरेको थियो। गाउँकार्यपालिका कार्यालय, सबै वडा तथा मातहत विभिन्न सरकारी कार्यालयहरूको सेवा प्रवाह, नागरिकप्रतिको जिम्मेवारी निर्वाह, सुशासनको प्रयास तथा जवाफदेहिताको अवस्था सर्भेक्षण गरेर नागरिकसामु प्रस्तुत गर्ने उदेश्यले वर्षेनी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको प्रशासकीय अधिकृत विनय निरौलले बताए।
प्रकाशित: ३० जेष्ठ २०८३ २१:५८ शनिबार





